रुकुम पश्चिमकाे चौरजहारी सोतीमा घटेको घटनाबारे मानव अधिकार तथा शान्ति समाजले गरेको स्थलगत अध्ययन अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको छ।
संविधानसभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी नेतृत्वको समितिले शुक्रबार बुटवलमा प्रतिवेदन सार्वजनिक गरेको हो।
६ जना युवाको ज्यान जाने गरी भएको जातीय हिंसा सम्बन्धमा अध्ययन गर्न गठित समितिले पीडितका परिवार तथा घटनामा संलग्न भएका भनिएका व्यक्तिहरुसहित घटनास्थलको अनुगमन गरेको जनाएको छ।
सुष्माका अभिभावकले दलित युवालाई स्वीकार गर्न नसकेकाले योजनावद्ध आक्रमणमा उत्रिएको प्रतिवेदनले औँल्याएको छ।
‘सोती घटना नवराज विक र सुष्मा मल्लबीचको अन्तरजातीय प्रेमका कारण घटेको प्रष्ट हुन्छ’ प्रतिवेदनमा भनिएको छ, ‘जेठ १० गते नवराज विकलाई सुष्मा मार्फत गाउँमा निम्तो दिई निश्चित व्यक्तिहरुको योजनामा भएको क्रुर र बर्बरतापूर्ण तवरले नृशंसतापूर्वक ६ जना युवाको सामूहिक हत्या भएको र अन्यले कुटाई खाएको तथ्यहरुले प्रष्ट्याउँछ।’
घटना अन्तरजातीय प्रेमलाई गैरदलित अभिभावकले अस्विकार गरी ज्यानै जाने गरी आक्रमणमा उत्रेको हुनाले जातीय विभेदकै घटनाका रुपमा कानुनी कारवाही गर्नुपर्ने समितिको सुझाव छ।
यस्तै, जातीय विभेदको मानसिकताले प्रतिशाेधको भावना लिई समूहमा योजनाबद्ध रुपमा आक्रमण गरेको देखिएकाले संगठित अपराध अनुसार कारबाही अघि बढाउनुपर्ने बताइएको छ।

प्रतिक्रिया