कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण सबै गतिविधि बन्द हुँदा सुदूरपश्चिम प्रदेशमा सञ्चार क्षेत्रको आर्थिक अवस्था दयनीय बनेको छ। यसले श्रमजीवि पत्रकारमा पनि सङ्कट बढ्दै गएको छ।
कोभिड-१९ को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न लामो समयदेखि लकडाउन हुँदा आम जनजीवनसँगै सञ्चार क्षेत्र पनि मारमा परेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखएको छ।
कोभिड–१९को कहरका बीच महासंघको प्रदेश समितिले प्रदेशका सबै जिल्लाको स्थलगत अनुगमन गरी सञ्चारकर्मी तथा सञ्चारमाध्यमले भोग्नुपरेका समस्याको पहिचान तथा समाधानका उपाय पहिल्याउन हालै स्थलगत अध्ययन अनुगमन गरेको थियो।
प्रदेशमा सञ्चारको अवस्था
सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ७५ एफएम रेडियो सञ्चालनमा छन्। दैनिक पत्रिका ४६, साप्ताहिक पत्रिका ४५, स्थानीय टेलिभिजन दुई छन्। नियमित प्रकाशन हुँदै आएका प्रायः सबैजसो दैनिक र साप्ताहिक पत्रिका लकडाउन शुरु भएदेखि नै बन्द छन्।
प्रदेशका दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै केही सीमित पत्रिका प्रकाशन भइरहेका छन् । नियमित प्रकाशन भइरहेका पत्रिकाले समेत निकै समस्या र चुनौतीको सामना गर्नुपरेको छ । बजार बन्द छ, स्वास्थ्य असुरक्षा उस्तै छ । विज्ञापन शून्य छ।
यस अवस्थामा समुदाय तहसम्मलाई सूचना दिने काम एफएम रेडियोले गरिरहेका छन् । रेडियोले आम स्रोतालाई कोभिड–१९ का बारेमा समेत जनचेतना जगाउने काम गरिरहेका छन् । सरोकारवालालाई जवाफदेहिता वृद्धि गराउने कार्य पनि गरिरहेका छन्।
थुप्रै समस्याका बाबजुद पनि एफएम रेडियो नियमित प्रसारण भइरहेका भए पनि उनीहरुको आम्दानी ह्वात्तै घटेको छ । व्यापारिक विज्ञापन छैनन् । प्रसारण हुँदै आएका विज्ञापनसमेत सम्बन्धित व्यक्ति र संस्थाले बन्द गर्न लगाइएको महासङ्घको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
अधिकांश पत्रपत्रिका लकडाउन शुरु भएदेखि नियमित प्रकाशन हुनसकेका छैनन्। अनलाइन आम नागरिकलाई सूचना प्रदान गर्ने गराउने सशक्त माध्यम बनेका छन्। एफएम रेडियोले पनि समय घटाउनुपरेको बाध्यात्मक अवस्था छ।
जसका कारण रेडियो, पत्रपत्रिका, अनलाइन र टेलिभिजनको अवस्था आर्थिक तथा व्यावसायिकरूपमा दयनीय बन्दै जाँदा सम्पूर्ण श्रमजीवी पत्रकारमाथिको सङ्कट बढ्दै गएको छ।
अनलाइन
पछिल्लो समय सञ्चारको सशक्त माध्यमका रूपमा विकास भइरहेको अनलाइनसमेत आम मानिसको सूचनाको स्रोत बनेका छन् । धेरै मानिसलाई कोभिड–१९ का बारेमा सूचना दिने र सचेतता गराउने काम अनलाइनले गरेको पाइएको छ । अनलाइनमा काम गर्ने सञ्चारकर्मीका समेत उस्तै समस्या छन् । अनलाइनमा विज्ञापन शून्य छ।
प्रदेशका सबै जिल्लामा हरेक राष्ट्रिय मिडियाका प्रतिनिधि कार्यरत रहेका छन्। तीमध्ये अधिकांश स्ट्रिङ्गर समाचारदाता छन्। अहिले उत्पन्न परिस्थितिमा उहाँहरुलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको महासंघको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
टेलिभिजनले भने आफ्ना प्रतिनिधिलाई अहिले पनि काममा लगाइरहेको छ । हरेक व्यक्तिको सम्पर्कमा जानुपर्ने भएका कारण रेडियोकर्मी तथा टेलिभिजनकर्मी कोरोनाको उच्च जोखिममा छन्।
स्वास्थ्य सामाग्रीको अवस्था
कैलाली र कञ्चनपुरका सञ्चारकर्मीले थोरै भए पनि स्वास्थ्य सामग्रीका रूपमा मास्क, स्यानिटाइजर र पञ्जा पाएका भए पनि पहाडी जिल्लामा कार्यरत सञ्चारकर्मीले यस्ता सामग्री पनि पाउन सकेका छैनन्। उनीहरु स्वास्थ्य सामग्रीबिना नै रिपोर्टिङमा गइहेका छन्।
कतिपय स्थानीय निकाय, सङ्घसंस्था र व्यक्तिले पत्रकारका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् तर धेरैजसो ठाउँमा किनेर पनि स्वास्थ्य सामग्री पाउने अवस्था छैन।
सूचनाको स्रोत
कोरोना प्रभावितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। कतिपय व्यक्तिले कोरोनाका कारण ज्यानसमेत गुमाएका छन्। यस्तो अवस्थामा सञ्चारकर्मी कोभिड–१९ सङ्क्रमणका बारेमा आम मानिसलाई जानकारी दिन चाहन्छन् । तर सूचना सहजरूपमा प्राप्त गर्न नसकेका कारणसमेत सञ्चारकर्मी समस्यामा छन्।
नेपाल पत्रकार महासंघ प्रदेश समितिको अध्ययन प्रतिवेदनमा सञ्चारमाध्यम आर्थिक हिसाबमा जर्जर भई सञ्चारकर्मीको अवस्था जटिल बन्दै गएको अवस्थामा सञ्चारकर्मीको व्यावसायिक तथा आर्थिक सुरक्षाका साथै स्वास्थ्य सामग्रीको उपलब्धता र बीमा गर्न जरुरी रहेको सुझाव दिइएको छ। रासस

प्रतिक्रिया