ad ad

समाज


तिलोत्तमा हत्याकाण्डः यस्तो छ आरोपीको बयान

तिलोत्तमा हत्याकाण्डः यस्तो छ आरोपीको बयान

नीरा गौतम
जेठ २८, २०७७ बुधबार १५:४९,

रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घटना भएको बयान दिएका छन्।

हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी घटनाका आरोपी सुर्खेतको साविक नेटा गाविस–३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले चरित्र हत्याकै कारण आवेशमा आएर हत्या गरेको बयान दिएको जानकारी गराएको छ।

हत्यापछि फार्मभित्रै पराल राख्ने ठाउँमा बेहोस अवस्थामा झसेन्द्र पक्राउ परेका थिए। मुसा मार्ने विषादी सेवन गरेका कारण उनी बेहोस अवस्थामा भेटिएको र उपचारपछि ठीक भएको प्रहरीले जनाएको छ। अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको बताएका थिए। प्रहरीले घटनास्थलबाट कोदालो र लठ्ठी बरामद भएको जनाएको छ।

पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले मृतकले व्यक्तिगत चरित्रमा आँच आउने किसिमले चर्चा गरेकाले मानसिकरुपमा चोट पुग्न गई आवेशमा आएर हत्या भएको देखिएको बताए।

‘झसेन्द्रको चरित्रमाथी बारम्बार प्रश्न उठाएपछि उनीहरुलाई तह लगाउने नाममा हत्या भएको पाइयो। अहिलेसम्म अनुसन्धानका क्रममा अरु कारण फेला परेन’, उनले भने।

अनुसन्धान समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले सामान्य रिसिइबीका कारण नै घटना भएको देखिएपनि थप अनुसन्धान गरिने बताए। तिलोत्तमा–१० मैनहवास्थित गंगादेवी पशु फार्ममा सोमबार राति पाँच जनाको सामूहिक हत्या भएको थियो।

फार्ममा सैनामैना मुर्गियाका ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १६ वर्षीय पोखराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षीय आशिष चौधरीको सामूहिक हत्या भएको थियो। मुसहर तीनैजना फार्मका कामदार भएपनि करण र आशिष भने कामदार होइनन्। प्रहरीकाअनुसार हत्या गरिएका पाँचै जनाको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।

सामूहिक हत्याकाण्डपछि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बैदवारको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। जिल्ला अदालत भैरहवाले सिञ्जालीलाई कर्तव्य ज्यान कसुरमा थप अनुसन्धान गर्नको लागि सात दिनको म्याद थप गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .