ad ad

समाज


न्युजिल्याण्ड कोरोना भाइरसमुक्त बनेपछि प्रधानमन्त्री जसिन्डा आर्डर्न खुशीले नाचिन्

न्युजिल्याण्ड कोरोना भाइरसमुक्त बनेपछि प्रधानमन्त्री जसिन्डा आर्डर्न खुशीले नाचिन्

नेपालखबर
जेठ २६, २०७७ सोमबार १०:२०,

कोभिड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्युजिल्याण्डले यस्तो घोषणा गरेको हो।

प्रधानमन्त्री जसिन्डा आर्डर्न उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाचेकी थिइन्।

आर्डर्नले टेलिभिजन सम्बोधनका क्रममा अन्तिम कोरोना संक्रमित निको भएसँगै आफू खुशीले नाचेको बताइन्।

प्रधानमन्त्री आर्डर्नले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताएकी छिन्। उनले सामाजिक दूरी र सार्वजनिक स्थलमा हुने भेला, समारोहमा रहेका सीमितताहरु हटाइएको पनि घोषणा गरिन्।

टेलिभिजनबाट प्रशारित एक सम्बोधनमा प्रधानमन्त्री आर्डर्नले भनिन्, “अहिलेका लागि न्युजिल्याण्डमा कोरोना भाइरसको प्रसार पूर्णरुपमा रोकिएकामा हामी विश्वस्त छौं। भाइरसलाई नियन्त्रणमा ल्याउन जनताले देखाएको अभूतपूर्व एकताको म प्रशंसा गर्दछु ।”

करिब ५० लाख जनसंख्या रहेको दक्षिणी प्रशान्त महासागरीय राष्ट्र न्युजिल्याण्डमा कोभिड–१९ बाट एक हजार १५४ जना संक्रमित हुनुका साथै २२ जनाको ज्यान गएको थियो।

पछिल्लो १७ दिनदेखि न्युजिल्याण्डमा नयाँ संक्रमण देखिएको छैन। पछिल्लो एक सातामा एक जनामा मात्र कोरोना संक्रमण देखिएको थियो।

संक्रमित पछिल्लो व्यक्तिका बारेमा विस्तृत रुपमा जानकारी दिइएको छैन, तर स्रोतहरुले ती व्यक्ति अकल्याण्ड निवासी ५० वर्षीया महिला रहेको बताएका छन्।

न्युजिल्याण्डले कोरोना भाइरसको प्रसार रोक्न देशव्यापी रुपमा सात हप्तासम्म निकै कडा लकडाउन गरेको थियो।

न्युजिल्याण्डमा सबैजसो खेलमा जति पनि दर्शक सहभागी हुन पाउने छन्। त्यहाँको रग्बी संघले यसै साता सुपर रग्बी प्रतियोगिता संचालन गर्ने जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .