ad ad

खेल


एन्फासँग १७ करोड लिएको प्रमाणित गर्न सांसद यादवलाई खेलकुदमन्त्रीको चुनौती

एन्फासँग १७ करोड लिएको प्रमाणित गर्न सांसद यादवलाई खेलकुदमन्त्रीको चुनौती

नेपालखबर
जेठ २६, २०७७ सोमबार १०:२९,

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले आफूले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग १७ करोड रुपैयाँ लिएको आरोप प्रमाणित गर्न सांसद प्रदीप यादवलाई चुनौती दिएका छन्।

आर्थिक वर्ष २०७७/०७८ विनियोजित बजेटअन्तर्गत मन्त्रालयका विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सोमबार सांसद यादवलाई आफुलाइ लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका हुन्।

सांसद यादवले गत शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादास्पद अभिव्यक्ति छानबिन गर्न माग गर्ने क्रममा मन्त्री विश्वकर्मालाई एन्फाले १७ करोड रुपैयाँ दिएको आरोप लगाएका थिए।

मन्त्री विश्वकर्माले सांसदको नाम नलिई भने, ‘एन्फाले पनि खेलकुद मन्त्रीलाई पनि बढा माया गरेको छ। एन्फाले १७ करोड रुपैयाँ दिएको छ भन्ने आरोप लगाउनुभएको छ। यो आरोपलाई मैले गम्भीरतापूर्वक लिएको छु। यसलाई प्रमाणित गर्न उहाँलाई चुनौती दिन्छु।’

मन्त्री विश्वकर्माले कुन आशयमा सांसद यादवले त्यस्तो आरोप लगाउनुभएको, त्यसको आशय प्रष्ट पार्न उल्लेख गर्दै उनको त्यो भनाइलाई संसदको रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह समेत गरे।

एन्फाले फिफाको सहयोगमा आफ्नो निर्वाचिन क्षेत्रको माछापुच्छ्रे गाउँपालिकाको भेडाबारीमा १७ करोड रुपैयाँबराबरको बहुउद्देश्यीय सेन्टर निर्माण गर्ने निर्णय गरेको भन्ने सुन्नमा आएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले भने, ‘त्यसरी निर्माणको निर्णय हुनुमा मेरो के दोष हुन्छ? मैले योजना परेको सुनेको हुँ। त्यसमा मन्त्रालयलाई आधिकारिक जानकारी छैन।’

मन्त्रीले आफूलाई एन्फाले मात्र होइन खेलकुद क्षेत्रका सबैले माया गर्ने गरेको पनि बताएका थिए। उनले मन्त्रालयका विषयमा उठेको प्रश्नमा जवाफ दिने क्रममा ५८ करोड रुपैयाँ भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भएको उल्लेख गर्दै भने, ‘त्यसमा पनि ४० करोड रुपैयाँ स्थानीय निकायमा खेलग्राम स्थापनाका लागि हो। बाँकी १८ करोड रुपैयाँले अहिले चलिरहेका योजना पूरा गर्नुपर्ने चुनौती छ।’

उनले आगामी आर्थिक वर्षमा कुनै पनि कुनै नयाँ भौतिक पूर्वाधारको योजना रहेको पनि बताए। कोराना भाइरसका कारण उत्पन्न कठिन परिस्थितिले अन्य क्षेत्र जस्तै खेल क्षेत्रलाई पनि असर गरेको बताएका थिए।

यसैबीच, मन्त्री विश्वकर्माले एन्फा अध्यक्ष शेर्पाले दिएको भनेको विवादस्पद अभिव्यक्ति आफूलाई जानकारी नभएको बताएका छन्।

उनले भने, ‘एन्फा अध्यक्षले के भन्नु भयो भन्ने छ, मेरो जानकारीमा छैन। उहाँले कहाँ, के अन्तर्वार्ता दिनुभयो, के भन्नुभयो मलाई थाहा छैन । कता कताको कुरा ल्याएर मन्त्रीलाई विवादमा तान्नु खोज्नु उचित हुन सक्दैन । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र कानुनविपरित काम गर्नेलाई कुनै छुट नदिने, प्रमाणका आधारमा कानुनबमोजित दण्डित गरिन्छ । व्यक्तिको अनुहार हेरेर युवा तथा खेलकुद मन्त्रायलमा कुनै काम हुँदैन र भएको पनि छैन।’

सांसद यादवले मधेशीका विषयमा गलत अभिव्यक्ति दिने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई अविलम्ब निलम्बन गरी छानबिनमा ल्याउन सभामुखमार्फत खेलकुद मन्त्री विश्वकर्मालाई आग्रह गरेका थिए।

जेठको सुरुवातमा एन्फा अध्यक्ष शेर्पाले एक अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा आएका थिए। यो विषयमा उनले एक विज्ञप्ति जारी गरी माफी पनि मागिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .