ad ad

समाज


परीक्षण हुन नसक्दा सुदूरपश्चिममा ‘भुसको आगोजस्तै फैलिँदै कोरोना’

परीक्षण हुन नसक्दा सुदूरपश्चिममा ‘भुसको आगोजस्तै फैलिँदै कोरोना’

गोकुल जोशी
जेठ २५, २०७७ आइतबार ९:१०,

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण (कोभिड-१९) को परीक्षण कछुवा गतिमा भइरहेको देखिएको छ। चैतयता यस प्रदेशमा जम्मा ७ हजार ४९ जनाको मात्रै पीसीआर परीक्षण भएको हो।

साढे २५ लाख जनसंखया रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि एउटा मात्रै प्रयोगशाला छ- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रयोगशालमा अहिलेसम्म ४ हजार ६ सय ८५ जनाको स्वाबको पीसीआर परीक्षण गरिएको छ। यो प्रयोगशाला सञ्चालनमा आउनुअघि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ हजार ३ सय १६ र सुर्खेतस्थित प्रयोगशालामा ४४ गरी सदूरपश्चिम प्रदेशका जम्मा ७ हजार ४९ जनाको कोरोना परीक्षण भएको छ। 

जसमध्ये अहिलेसम्म १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा पठाइएका स्वाबका नमुनामध्ये अझै १ हजार १ सय ९६ वटाको रिपोर्ट आउन बाँकी नै छ।

प्रदेशभरका लागि एउटा मात्रै प्रयोगशाला र यसैमा पनि पर्याप्त जनशक्ति नहुँदा सोचेअनुसार कोरोना परीक्षण गर्न नसकिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की बताउँछन्।

‘प्रयोगशाला एउटै हुँदा जति हुनुपर्ने हो, त्यति परीक्षण गर्न सकिएको छैन, जनशक्ति र प्रयोगशाला थपका लागि केन्द्र सरकारसँग आग्रह गरेका छौं, अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन,’ नेपालखबरसँग स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने।

सुदूरपश्चिम प्रदेश सरकारले चैत १५ गते धनगढी, डोटी र बैतडीमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। तर त्यो निर्णय कागजमै सीमित भएको छ। सेती प्रादेशिक अस्पतालमा रहेकाे प्रयोगशालाको क्षमताले नधानेपछि सुदूरपश्चिममा कोरोना परीक्षणका लागि स्वाब संकलन नै स्थगित गर्नुपरेको छ।

लकडाउनअघि र पछि गरेर सुदूरपश्चिममा भारतबाट भन्डै २ लाख नेपाली भित्रिएको तथ्यांक छ। लकडाउनबीचमै भारतबाट फर्किएका ६२ हजारभन्दा बढी मानिस अहिले क्वारेन्टिनमा छन्। पछिल्लो समय भारतबाट फर्किएकामा कोरोना संक्रमण देखिन क्रम बढिरहेका बेला क्वारेन्टिनमा बसेकाको पनि परीक्षण हुन सकेको छैन।

भारतमा कोरोना महामारीले भयावह रूप लिइरहेका बेला खुला सीमाका कारण जोखिममा रहेको सुदूरपश्चिममा पीसीआर परीक्षण हुन नसक्दा संक्रमण ‘भुसको आगो’जस्तै भित्रभित्रै फैलिसकेको विज्ञले विश्लेषण गर्न थालेका छन्।

भारतबाट आएकाको मात्रै पनि कोरोना परीक्षण हुन नसकेको अवस्थामा २५ लाख ५२ हजार ५ सय १७ नागरिक रहेको सुदूरपश्चिमका सबैको कोरोना परीक्षण गर्न वर्षौं लाग्ने देखिएको छ।

३२ हजारभन्दा बढी आरडीटी परीक्षण
कोरोना आशंकामा अहिलेसम्म सुदूरपश्चिमका ३२ हजार ७ सय ५६ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना आशंकामा भारतबाट फर्केर क्वारेन्टिनमा बसेका ३२ हजारभन्दा बढी मानिसको आरडीटी परीक्षण गरिसकिएको हो।

चैतयता गरिएको आरडीटी परीक्षणमा ९ सय २८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। तर प्रयाेगशाला अभावमा स्वाब संकलन नै रोकिएपछि तीमध्ये केहीको पीसीआर परीक्षण हुन सकेको छैन भने केहीको नमुना प्रयोगशालामै छन्। 

बेलाबेला आरडीटी परीक्षण किट र पीसीआर परीक्षणका लागि नमुना संकलन गर्ने भीटीएम अभाव झेलिरहेको सुदूरपश्चिममा अहिले भने १४ हजार ९ सय २२ आरडीटी किट र ५ सय ११ भीटीएम मौज्दात रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .