समाज


भारत कोरोनाको नयाँ केन्द्र बन्दै, एकैदिन झण्डै दश हजार नयाँ सङ्क्रमित थपिए

भारत कोरोनाको नयाँ केन्द्र बन्दै, एकैदिन झण्डै दश हजार नयाँ सङ्क्रमित थपिए

नेपालखबर
जेठ २५, २०७७ आइतबार ७:३३,

सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार त्यहाँ एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका छन्।

सङ्क्रमितहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाइएको छ।

त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या पनि २८७ रहेको अधिकारीहरुले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा पछिल्लो विवरणमा नै सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन्।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये एक लाख २० हजार ४०६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी कुल मृतकको संख्या छ हजार ९२९ पुगेको छ भने एक लाख १९ हजार २९३ जना सङ्क्रमण मुक्त भइसकेका छन्।

भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भेटिएका छन्। जहाँ ८२ हजार ९६८ जना सङ्क्रमित भएका छन्।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भएको तमिलनाडु प्रदेशमा कुल ३० हजार १५२ जना सङ्क्रमित भएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म देशभरी कुल ४६ लाख ६६ हजार ३८६ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ। तीमध्ये एक लाख ४२ हजार ६९ जनाको पछिल्लो २४ घण्टा भित्र परीक्षण गरिएको थियो।

केही दिनयता भारतमा तीव्र गतिमा कोरोना संक्रमित बढिरहेका छन्। भारत कोरोनाको नयाँ केन्द्र बन्ने खतरा बढ्दै गएको छ।

भारत अहिले कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको छैठौं स्थानमा छ। भारतमा चीन, इटली, जर्मनी र इरानमाभन्दा बढी कोरोना संक्रमित छन्। एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad