पर्सागढी नगरपालिकामा रहेको सिंघही खोलामा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ। खोलामा बगेर आएको दाउरा झिक्न खोलामा पसेका नगरपालिकाको वडा नं १ निवासी मेघराज पटेलका छोरा निखिर पटेलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
यता चार दिनदेखि परेको अबिरल वर्षाको कारण जिल्लाको अधिकांश भाग डुबानमा परेको छ। लगातार परेको वर्षाले खोलाको पानी बस्तीमा प्रवेश गरेपछि सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। वीरगञ्जको रानीघाट, श्रीपुर, राधेमाई, मुर्ली, नगवा, छपकैया, सिर्सियालगायतका स्थानमा रहेको खोला छेउका बस्ती जोखिममा परेका छन्।
जिल्ला प्रशासन कार्यालय लगायतका धेरै सरकारी कार्यालयमा पनि वर्षाको पानी पसेको छ। वर्षाको पानीबाट प्रभावित भएका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई परिचालित गरी रहत तथा उद्धारका कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। रासस
Shares

प्रतिक्रिया