नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा अविरल वर्षाका कारण मानवीय क्षति हुन नदिन पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनलाई उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशन दिएका हुन्।
वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्त दुःखी भएको उल्लेख गर्दै अध्यक्षद्वयले पीडितको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको समेत जानकारी गराएका छन्। उनीहरुले बाढीबाट भएको दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन्।
विज्ञप्तिमा बाढीबाट घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ। रासस

प्रतिक्रिया