भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको भन्दै उनीहरूले बिहीबार काठमाडौँको माईतीघरमा प्रदर्शन गरेका हुन्। सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन जारी रहने उनीहरूले बताएका छन्।
सुकुम्वासी अगुवा प्रेमबहादुर तामाङले सरकारले सुकुम्वासी र हुकुम्बासी नछुट्याइकन सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाए। सरकार भूमि भएका र नभएका नागरिकको छानबिन गरेर मात्र सुकुम्वासी बस्ति हटाउनुपर्नेमा त्यसो नगरेको उनको भनाइ छ।
‘कोसँग भूमि छ? कोसँग छैन? सुकुम्वासी हो कि हुकुम्वासी हो? सरकारले छानबिन गर्नसक्छ,’ उनले भने, ‘यसरी सपनामा जस्तो सुकुम्वासी नागरिकलाई तितरबितर गर्न पाइँदैन।’
वैकिल्पक व्यवस्थापन नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए। ‘जबसम्म सरकारले सुकुम्वासी नागरिकको उचित व्यवस्थापन गरेर समस्या समाधान गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ। आन्दोलन झन चर्किंदै जान्छ,’ उनले भने।
सरकारले गत वैशाख १२ र १३ गते काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्वासी बस्तीमाथि डोजर चलाएको थियो। त्यतिबेला सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन।
Shares

प्रतिक्रिया