समाज


लकडाउनकै बीचमा विकास निर्माणको कामलाई अगाडि बढाउँदै काठमाडौँ महानगर

लकडाउनकै बीचमा  विकास निर्माणको कामलाई अगाडि बढाउँदै काठमाडौँ महानगर

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ७:३२,

लकडाउनका अवधि पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ।

काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको जानकारी दिए।

‘केही दिन अघि मात्रै वडा–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकासे पुलको शिलान्यास भएको छ,’ थापाले भने, ‘माइतीघर नजिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छेउको निर्माणघीन आकाशे पुल करीब–करीब निर्माण सम्पन्न हुने क्रममा छ। बन्दाबन्दीमा समेत कामलाई निरन्तरता दिएर सकेसम्म असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी छ।’

उनले जयबागेश्वरीमा केही दिन अघि मात्रै शिलान्यास गरेको पुल निर्माणको कामलाई पनि निरन्तरता दिने बताए। ‘जयबागेश्वरीको पुल दशैँ भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘चावहिलको पुल निर्माणको काम निरन्तर अघि बढिरहेको छ।’

जयबागेश्वरीको सार्न मिल्ने आकाशे पुलको शिलान्यास संघीय सांसद् गगनकुमार थापाले गरेका थिए। शिलान्यास कार्यक्रममा प्रदेश सांसद नरोत्तम बैद्यलगायत सहभागी थिए। महानगरपालिकाका काममा संघीय र प्रदेश सांसदहरुले समेत सहभागिता जनाउँदा विकास निर्माणका कामलाई दू्रततर गतिमा अघि बढाउन थप सहज हुने महानगरपालिकाको बुझाई छ।

‘आर्थिक वर्ष २०७६÷०७७ मा महानगरपालिका क्षेत्र भित्रका विभिन्न ६ स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माण गर्ने योजना बनाएका थियौँ,’ थापाले भने, ‘सोही अनुरुप अहिले चावहिल, जयबागेश्वरी र माइतीघर नजिक यस्ता पुल निर्माणको काम अघि बढाएका छौँ।’

उनले एक करोडको हाराहारीमा निर्माण हुँदै गरेको माइतीघर नजिकको पुल सकेसम्म असार मसान्ता भित्र सम्पन्न गर्ने गरी काम अघि बढाएको बताउनुभयो । ८२ लाख ६६ हजारमा निर्माण हुँदै गरेको चावहिलको पुल निर्माणको काम पनि अघि बढेको उनले जानकारी दिए।

‘जयबागेश्वरीको पुल बन्दाबन्दीकै बेलामा समेत काम गरेर आउँदो ४ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘आगामी दिनमा पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने नीति लिएको छ।’ जयबागेश्वरीको पुल भ्याटबाहेक ६४ लाख ९९ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो।

यहि आर्थिक वर्षमा कम्तीमा ६ स्थानमा अकाशेपुल निर्माण गर्ने योजना भए पनि विभिन्न कारणले तीन ओटा मात्रै अघि बढेको बताए। ‘हामीले यही आर्थिक वर्षमा चावहिल, जयबागेश्वरी, सिंहदरबार अघि, नयाँ बानेश्वर, कोटेश्वरलगायतका स्थानमा यस्ता पुल निर्माण गर्ने योजना बनाएका थियौँ,’ उनले भने, ‘तर, नयाँ बानेश्वर र कोटेश्वरमा सडक विभागले निर्माण गर्ने भनेकाले अन्य ठाउँको पहिचान गरिरहेका छौँ। कम्तीमा १० स्थानमा यस्ता पुल निर्माण गर्ने महानगरपालिकाको योजना छ।’

उनले विभिन्न वडाका काम पनि लकडाउनका बेलामा समेत सामाजिक दूरी कायम गर्दै र सुरक्षाका उपायहरु अपनाएर अघि बढाएको बताए। ‘७, १०, ११, १२, १३, १४,१६ लगायतका वडामा कालोपत्रे गर्ने बाहेक ब्लक छाप्ने, ढलान गर्ने, ढल निर्माण गर्ने, वडा कार्यालय भवन निर्माण गर्ने जस्ता भौतिक पूर्वाधारका कामलाई निरन्तरता दिएका छौँ,’ उनले भने, ‘कालोपत्रे गर्ने श्रमिकहरु बढी मात्रामा तराइतिरका हुने भएकाले उनीहरु आउन नपाएका कारण कालोपत्रे गर्ने काम भने अघि बढाउन सकेका छैनौँ।’

करिब २ सय करोडका आयोजनाहरु चालु अवस्थामा रहेको उनले जानकारी दिए। ‘गत वर्षका आयोजना सम्पन्न गर्ने र चालु आर्थिक वर्षका कामलाई पनि निरन्तरता दिने योजना छ,’ उनले भने, ‘विश्वभरी फैलिएको कोरोना संक्रमण र त्यसका कारण मुलुकमा जारी लकडाउनले गर्दा पनि कतिपय काम अघि बढाउन केही कठिनाई भइरहेको छ। तर, पनि कतिपय काम हामीले अघि बढाएका छौँ।’

उनले महानगरपालिका क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई पनि बन्दाबन्दीका बेला समेत निरन्तरता दिएको जानकारी दिए।

महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैंगिक तथा अपांगमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रबन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ।

काठमाडौँ महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ जारी गरिसकेको छ। बन्दाबन्दीको अवस्था लम्विदै गएको खण्डमा श्रममा आधारित पारिश्रमिकको व्यवस्थाका लागि कार्यविधि नै जारी गरेको महानगरपालिकाले त्यस्ता श्रमिकहरुलाई सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत–सम्हार, ढल निर्माण तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौदर्यीकरण, फाहोर–मैला व्यवस्थापन जस्ता काममा लगाउने तयारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad