काठमाडौंमा आज (बिहीबार) देखि सम्पूर्ण पसल/व्यवसाय खुला हुने भएको छ। साना उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबारदेखि बिहान ११ बजेसम्म सबै खालका पसल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको हो।
लामो लकडाउनले व्यापार व्यवसाय चौपट भएपछि राज्यको निर्देशनको अवज्ञा गर्दै व्यवसायीले पसल खोल्ने निर्णय गरेका हुन्।
महासंघका अध्यक्ष नरेश कटुवालले बुधबार प्रेस विज्ञप्ति जारी गरेर पसल व्यवसाय सञ्चालन गरिने जानकारी गराएका हुन्। ७१ दिनदेखिको लकडाउनका कारण सम्पूर्ण उद्योग व्यवसाय ठप्प हुँदा रोजीरोटी नै गुम्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘यही किसिमले लकडाउन जारी रहने हो भने उद्योगी व्यवसायीहरु व्यवसायबाट पलायन मात्रै होइन, रोजीरोटी नै गुम्ने खतरा देखिएकाले बिहीबारदेखि बिहान ११ बजेसम्म दैनिक पसलहरु खुला गर्ने निर्णय भएको गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो व्यवसाय खुला गरे पनि न्युनतम दूरी कायम गर्ने, मास्क तथा स्यानिटाइजर प्रयोग गर्ने लगायत विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको न्युनतम मपदण्डको पालना गर्नेछौं।’
पसल व्यवसाय खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आए राज्यलाई तिर्नुपर्ने कर, घर भाडा, बैंकको व्याजदर र कर्मचारीको तलब भत्ता दिन नसक्ने र त्यसको जिम्मा राज्यले लिनुपर्ने चेतावनी पनि व्यवसायीले दिएका छन्।
सरकारले जारी लकडाउनलाई लम्ब्याउँदै ३२ जेठसम्म पुर्याएपछि काठमाडौंका व्यवसायीहरुले एकतर्फी रुपमा पसल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेका हुन्।
हेर्नुस् नेपाल राष्ट्रिय व्यवसायी महासंघकाे प्रेस विज्ञप्ति :

Shares

प्रतिक्रिया