अझै दुई दिन (शनिबारदेखि आइतबारसम्म) मनसुन अति सक्रिय हुने भएकाले देशमा भारी वर्षा जारी रहने सम्भावना रहेकाे मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले शनिबार बिहान नेपालखबरसँग भने, ‘आज पनि पूर्व र मध्य क्षेत्रका तराई पहाड दुवै र पश्चिमको तराई क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ।’
मौसमविद्का अनुसार हाल मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भूभागनजिक अवस्थित छ। यसका साथै मध्य र पूर्वी नेपालनजिक एउटा न्यून चापीयसमेत रहेकाले आगामी २ दिनसम्म मनसुन अति सक्रिय रहने देखिएको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी शुक्रबार साँझसम्म मुलुकभर कम्तीमा २२ जनाको ज्यान गइसकेको छ भने ५ जना बेपत्ता छन्। बाढी पहिरोका कारण ४३५ परिवार विस्थापित भइसकेका छन्।
‘आगामी दुई दिनसम्म अति सतर्क हुन आवश्यक छ,’ मौसमविद् श्रेष्ठले भने, ‘बाढीपहिरोको जोखिम रहेका क्षेत्रका मासिनले आफ्नो ज्यानको सुरक्षामा ध्यान दिन जरुरी छ।’
माैसम पूर्वानुमान महाशाखाका अनुसार शनिरबार देशभर वर्षा जारी रहने सम्भावना छ। देशका पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागमा र पश्चिमी भू-भागको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँमा धेरै भारी वर्षा हुने सम्भावना छ।
यस्तै राति पनि साेही क्रम जारी रहने तथा देशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ।
बितेको २४ घन्टामा सबैभन्दा बढी बाराकाे सिमरामा ३.११ मिलिमिटर वर्षा भएकाे छ। दाेस्राेमा जनकपुर २४५.२ मिलिमिटर तथा तेस्रोमा धरानमा १५५.८ मिलिमिटर वर्षा भएको छ।
सबैभन्दा बढी वर्षा हुने चाैथाे नम्बरमा काठमाडौं परेको छ। बितेको २४ घन्टामा यहाँ ११५.२ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांकले देखाएको छ।

Shares

प्रतिक्रिया