मौसम पूर्वानुमान महाशाखाले दक्षिण पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तर सर्दै गरेको र त्यो चक्रवातमा परिणत हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसको असर नेपालमा पनि पर्ने बताएको छ।
महाशाखाका अनुसार त्यो चक्रवात उत्तर(उत्तर पूर्व सर्ने क्रममा नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात् जेठ २२ देखि २४ गतेसम्म वर्षा हुन सक्ने सम्भावना छ। हिजै सोमबार बिहान विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ- साथै पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना छ।
यसबारे आज मंगलबार नेपालखबरले राखेको जिज्ञासामा मौसमविद् विभूति पोखरेलले त्यस्तो डराउनुपर्ने अवस्था नरहेको तर बुलेटिनमा उल्लेख गरिएअनुसार नै नेपालका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइन्।
‘केही नयाँ अवस्था आयो भने हामी पुनः अपडेट बुलेटिन प्रकाशन गर्ने छौं,’ उनले भनिन्।
आजको मौसम
आज अपराह्नपछि देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन्।
‘अहिले बिहान काठमाडौं उपत्यकालगायत अधिकांश स्थानमा घाम लागेको छ,’ उनले भनिन्, ‘तर अपराह्नपछि पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना छ।’
काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहे पनि त्यो अत्यन्त कम रहेको उनको भनाइ छ।

प्रतिक्रिया