कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले राजधानीमा आपतकालीन क्वारेन्टिन तयार गर्ने भएको छ।
राजधानीका चार स्थान, खरिपाटी, इचंगु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक र काठमाडौं मेडिकल कलेज दुवाकोटमा १ हजार ७ सय बेडको क्वारेन्टिन बनाइने भएको हो।
यी क्षेत्रमा क्वारेन्टिन तयार गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिइएको छ।
सहरी विकास मन्त्रालयले यी ठाउँको अनुगमन गरेर आवश्यक योजना तयार गर्ने मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद दबाडीले बताए।
खरिपाटीस्थित तालिम केन्द्रमा ३ सय, इचुंगु नारायण आवास क्षेत्रमा ४ सय तथा काठमाडौं मेडिकल कलेज र मनमोहन अस्पतालमा ५/५ सय क्षमताका क्वारेन्टिन बनाइने छ।
यसअघि मन्त्रालयले नेपाली सेनाको सहयोगमा खरिपाटीमा क्वारेन्टिन तयार गरेको थियो।
यी स्थानमा तत्काल क्वारेन्टिन बनाएर तयारी अवस्थामा राखिने सरकारी कार्ययोजना छ।
अर्थ मन्त्रालयले बजेट निकासा गर्नासाथ काम सुरु गरिने प्रवक्ता दबाडीले बताए।
Shares
प्रतिक्रिया