काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले सम्हालेका छन्।
बिहीबार सरकारले उपत्यका प्रहरी कार्यालयमा उनलाई सरुवा गर्ने निर्णय गरेको थियो। निर्णय भएको भोलिपल्टै उनी रानीपोखरीस्थित कार्यालयमा हाजिर भएका हुन्।
यसअघिका प्रमुख एआईजी ईश्वर कार्कीले राठौरलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका छन्। कार्की उपत्यकाबाट प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा भएका छन्।
बिहीबारको बैठकले नेपाल प्रहरीका आठ जना एआईजीलाई एकसाथ सरुवा गरेको थियो। त्यही क्रममा अपराध अनुसन्धान विभागमा कार्यरत राठौर उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन्।
यसअघि उनी कार्यरत रहेको विभागमा सीआईबीबाट मनोज केसीलाई लगिएको छ।
महत्त्वपूर्ण मानिने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उमाप्रसाद चतुर्वेदीलाई खटाइएको छ।
मानव स्रोत विभागका राजन अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन्। प्रतिष्ठानमा कार्यरत सिद्धिविक्रम शाहलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।
प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डम्बर विक प्रशासन विभागमा सरुवा भएका छन्।
प्रशासनमा कार्यरत हिमालयकुमार श्रेष्ठलाई कार्य विभागमा लगिएको छ।
Shares

प्रतिक्रिया