कुकुरको टोकाइबाट सर्ने रेबिज भाइरस विरुद्धको खोप (एआरभी) अभाव भएको छ। सरकारले खोप खरिदमा ढिलाइ गर्दा देशभर अभाव देखिएको हो।
रेबिज रोगबाट बचाउन सरकारले हरेक वर्ष करिब ३ लाखभन्दा बढी खोप खरिद गर्दै आएको थियो। जसलाई सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको थियो। तर जेन–जी आन्दोलनपछि सरकारले खोप खरिद प्रक्रिया टुंग्याउन नसक्दा देशैभर सरकारी स्वास्थ्य संस्थामा खोपको चरम अभाव छ।
कुकुरको टोकाइका कारण दैनिक दुई सय जना खोप लगाउन आउने काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमै रेबिजको खोप अभाव भएको छ। अस्पतालमा कुकुरले टोकेर खोप लगाउन आएका व्यक्ति खोप नपाएर फर्किएका छन्। खोप अभावको विषयमा अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीसँग बुझ्न खोज्दा उनले आफूले बोल्न नमिल्ने बताए।
‘खोप अभाव भए–नभएको विषयमा मैले बोल्न मिल्दैन, तपाईं अन्तबाट बुझ्नुहोला,’ उनले नेपालखबरसँग भने।
अस्पतालले कुनै प्रतिक्रिया नदिए पनि चिकित्सकहरू भने रेबिजको खोप अन्य अस्पतालमा नपाएको भन्दै टेकु आउनेको संख्या बढेको बताउँछन्।
‘रेबिजको खोप पाइएन भन्दै टाढाटाढाबाट कुकुरले टोकेका व्यक्ति अस्पताल आउने संख्या बढेको छ, त्यसले अस्पतालमा बिरामीको चाप बढाएको छ र खोप अभावको समस्या देखिएको हुनसक्छ,’ एक चिकित्सकले नेपालखबरसँग भने, ‘खोप अभाव भए–नभएको मलाई जानकारी भएन तर अस्पतालमा बिरामीको चाप भने बढेको छ।’
खोप खरिदमा समस्या भएको हो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा समीरकुमार अधिकारीले करिब ५ लाख भायल एआरभी खोप खरिदको टेन्डर अन्तिम चरणमा पुगेको भए पनि आपूर्ति प्रक्रिया सुरु नभएको बताए।
उनले बजार मूल्य बढेका कारण पुरानो दरमा खोप खरिद सम्भव नभएको र त्यसअनुसार नयाँ दर मिलाएर टेन्डर प्रक्रिया अघि बढाउनुपर्दा एन्टिरेबिज भ्याक्सिन खरिद प्रक्रियामा ढिलाइ भएको बताए,
‘अन्तर्राष्ट्रिय रूपमा नै खोपको मूल्य बढेका कारण पटकपटक टेन्डर आह्वान गर्दा पनि टेन्डर परेन, जसका कारण खोप खरिद हुन नसकेको हो,’ उनले थपे ‘पुरानै मूल्यमा खोप खरिद गर्न व्यापारी इच्छुक नहुँदा माघ महिनादेखि चार पटक टेन्डर खोल्दा पनि टेन्डर नपरेको हो।’
उनले जेठ १९ गते खोलिएको टेन्डर अनुसार असार १६ गतेसम्म खोप आउने बताए।
सह–प्रवक्ता अधिकारी खोपको मूल्य अन्तर्राष्ट्रिय रूपमा बढेकाले अहिले पछिल्लो टेन्डरमा दर मिलाइएको बताए।
‘अहिले विश्वव्यापी बजारमा परेको मूल्य वृद्धि, युद्ध, डलरको नेपाली मूल्यसँगको फरकपन लगायतका कारणले सरकारले त्यो दररेटभित्र उपलब्ध हुन सक्ने अवस्था सिर्जना भएन,’ उनले भने, ‘अब चाँडै टुंगिएर खरिद भएर आपूर्ति हुने अवस्थामा छ।’
सरकारले विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टिरेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको उनको दाबी छ।
‘आइतबार मात्र चार हजार पाँच सय भायल एआरभी खोप नेपाल आएको छ। उक्त मात्रामा भित्रिएको खोपले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका लागि मात्र एक महिनाका लागि पुग्छ,’ उनले थपे, ‘असार १६ गतेभित्र सम्झौता प्रक्रिया टुंगिएर आपूर्ति प्रक्रिया सुरु हुन्छ। हामीले सबैतिर, देशभरिका अस्पतालहरूमा रेबिजविरुद्धको खोपको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने काम गरेका छौँ। भ्याक्सिनको अतिरिक्त १७ हजारभन्दा बढी इम्युनोग्लोबुलिनको खरिद प्रक्रिया अगाडि बढिराखेको छ।’
उनले आगामी आर्थिक वर्षमा रेबिजविरुद्धको खोप अभाव हुन नदिने गरी आपूर्ति प्रक्रिया अघि बढाइरहेको बताए।
रेबिज रोग कसरी लाग्छ?
सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार रेबिज रोग घातक भाइरल रोग हो।
मुख्यतया संक्रमित जनावरको टोकाइ, चिथोरेको घाउबाट मानिसमा यो रोग सर्छ। संक्रमित जनावरले टोक्दा वा चोट लागेको ठाउँमा ¥याल प¥यो भने भाइरस शरीरमा प्रवेश गर्छ। रेबिज भाइरस मानव शरीरमा प्रवेश गरेसँगै मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर असर गर्छ। यो भाइरसले स्नायु तन्तुमार्फत मस्तिष्कमा पुगेर स्नायुहरूको कार्यक्षमता असर गर्छ। र, बिरामीको मृत्यु हुन्छ।
पुनका अनुसार रेबिज संक्रमित कुकुरले टोक्नेबित्तिकै खोप लगाउन सकियो भने रेबिज हुन पाउँदैन। डा पुन खोप समयमै लगाए रेबिजबाट बच्न सकिने तर रेबिजको रोगका लक्षण देखिन थालेपछि बिरामीको मृत्यु हुने बताउँछन्।
‘रेबिजविरुद्धको खोपले शरीरलाई भाइरसको संक्रमणबाट बचाउन प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ। खोपले रेबिज भाइरसले शरीरमा असर गर्नुअघि नै त्यसलाई नष्ट गर्ने क्षमता विकास गर्छ,’ उनले थपे, ‘कुकुरले टोकेपछि जतिसक्दो छिटो खोप लगाउन सकियो भने रेबिज हुनबाट बचाउन सकिन्छ।’
डा पुन कुकुरले टोकेको २४ घण्टाभित्र नै खोप लगाउनु पर्छ भन्ने धारणाका कारण धेरै व्यक्तिले समस्या भोग्नु परेको बताउँछन्।
‘धेरैमा २४ घण्टाभित्र नै खोप लगाउनु पर्छ भन्ने धारणा रहेको छ। २४ घण्टाभित्र खोप लगाउँदा काम गर्ने नत्र नगर्ने होइन,’ उनी थप्छन्, ‘रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि एक सातादेखि महिनापछि लक्षण देखिने हुँदा २४ घण्टाभित्रै नसके पनि जति सक्दो छिटो खोप लगाउनु भए हुन्छ।’
खोप मात्र रेबिज रोगको उपचार भएको भन्दै डा पुन कुकुरले टोकेपछि अनिवार्य खोप लगाउन सुझाव दिन्छन्।
वार्षिक एक सयको मृत्यु हुने आकलन, टेकुमै ३ वर्षमा ४६ को मृत्यु
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रेबिजबाट वार्षिक एक सय जनाको मृत्यु हुने आकलन गरेको छ। महाशाखाले मृत्यु हुने संख्या अझ बढी हुन सक्ने जनाएको छ।
सरकारी तथ्यांकमा भने निकै कम मात्र दर्ता हुने गरेको र केही व्यक्ति रेबिज लागेपछि अस्पताल नै नजाने र अस्पताल गएका बिरामीको तथ्यांक राष्ट्रिय तथ्यांकमा दर्ता नगर्नेसमस्या रहेको महाशाखाले औँल्याएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा असार ६ गते काठमाडौँको चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। ४ महिनाअघि कुकुरले टोके पनि उनले रेबिजको खोप लगाएका थिएनन्।
अस्पतालमा तीन वर्षमा ४६ जनाको मृत्यु भएको छ। अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीले सन् २०२४ देखि हालसम्म ४६ जनाको मृत्यु भएको बताए।
उनले सन् २०२६ अर्थात गत पुसदेखि असार पहिलो सातासम्म कुकुरले टोकेर अस्पताल आएकामध्ये ५ जनामा रेबिज देखिएको छ।
उनले अस्पताल आएकामध्ये सन् २०२४ मा १९ जना र २०२५ मा २२ जनाको रेबिजबाट मृत्यु भएको जानकारी दिए।
Shares

प्रतिक्रिया