काभ्रेपलाञ्चोकको बुच्चाकोटमा भएको बस दुर्घटनाको मुख्य कारण ‘टायर बेल्ट’ को समस्या भएको रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताएका छन्।
हाल घाइतेहरूको उपचार भइरहेको धुलिखेल अस्पतालमा रहेका अध्यक्ष लामाले टायर बेल्टमा समस्या आउँदा चालकले नियन्त्रण गुमाएको बताए।
घाइते चालकलाई उदृत गर्दै लामाले नेपालखबरसँग कुरा भने, ‘ड्राइभरको कुरा बुझ्दाखेरी यो गाडीको टायरबेल्ट हुँदो रहेछ। टायर बेल्ट गएको भन्ने छ। ड्राइभर यहाँ घाइते हुनुहुन्छ। टायर बेल्ट फुस्केर कन्ट्रोल गर्न नसकेको भन्ने ड्राइभरको भनाई छ।’
अध्यक्ष लामाले घटनास्थल तेर्सो र सहज बाटो भएको जानकारी दिए।
बस सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको पनि उनले बताए।
शुक्रबार काभ्रेपलाञ्चोकमा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।
मृत्यु हुने आठमध्ये चार जनाको सनाखत भएको छ। जसमा एक जना नेपाली सेनाका अमल्दार पनि छ।
सनाखत हुनेमा अमल्दार दैलेखका बमबहादुर भण्डारी, काभ्रे रोशी गाउँपालिका-७ का ३४ वर्षीया फूलमाया तामाङ, रोशी-६ का ७५ वर्षीय इन्द्रबहादुर झाँकी र रोशी-८ की ६० वर्षीया प्यारीमाया तामाङ रहेका छन्।
अन्य चार जनाको भने सनाखत हुन सकेको छैन।
बनेपाबाट सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो।
प्रहरीका अनुसार बसमा २४ जना सवार थिए।
Shares

प्रतिक्रिया