समाज


मानवमैत्री र प्रकृतिमुखी बजेट बनाउन नागरिक अभियानको माग

मानवमैत्री र प्रकृतिमुखी बजेट बनाउन नागरिक अभियानको माग

नेपालखबर
जेठ १०, २०८३ आइतबार १७:४, काठमाडौँ

पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले आगमी आर्थिक वर्ष २०८३/८४ को बजेट मानवमैत्री र प्रकृतिमुखी बनाउन माग गरेको छ। 

आइतबार अनामनगरस्थित सिलौटो कटेजमा पत्रकार सम्मेलन गरी अभियानले सरकार समक्ष ११ बुँदे माग प्रस्तुत गरेको हो। 
कार्यक्रममा पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानका अभियान्ता, नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थित रहेको थियो। 

सो अभियानका अभियान्ता नरेन खतिवडा र चिरञ्जीवी भट्टराई लगायतले हालै संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं बजेटका सिद्धान्त र प्राथमिकताहरूमाथि टिप्पणी गर्दै आगामी जेठ १५ गते संसदमा पेस हुने बजेटमा पर्यावरणीय न्याय, सामाजिक समानता र दिगो विकासलाई मुख्य प्रथमिकता दिनुपर्ने माग गरे। 

अभियान्ताहरूले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि हुनुपर्ने तथा जैविक कृषि र हरित रोजगारीको प्रवर्धनमा राज्यले जोड दिनुपर्ने माग अघि सारेका छन्। 

त्यस्तै, वैज्ञानिक भूमिसुधार लागू गर्दै रासायनिक मल तथा विषादीको प्रयोग घटाउन र प्राङ्गारिक मल कारखाना स्थापना गर्न उनीहरूले आग्रह गरेका छन्। नवीकरणीय उर्जाको विस्तारका साथै वातावरण प्रदुषण गर्ने उद्योग र जीवाश्मा इन्धनमा उच्च हरित कर लगाउनुपर्ने माग समेत सरकार समक्ष राखिएको छ।

विश्वव्यापी जलवायु संकटको सामना गर्न र पृथ्वी बचाउनका लागि नेपालले जलवायु कुटनीतिमा दक्ष जनशक्ति उत्पाउन गर्न लगानी बढाउनु पर्ने माग समेत सम्मेलनमा अभियान्ताले राखेका हुन्।   

अभियान्ता नरेन खतिवडाले नेपालको विकास मोडलमाथि प्रश्न उठाउँदै केवल डोजरे विकास गरेर मात्र समृद्ध नबन्ने बरु विकासको मोडललाई समुदाय केन्द्रित र प्रकृतिमैत्री बनाउन अपरिहार्य भइसकेको बताए। 

अभियान्ता भट्टराईले खोला किनारका सुकुम्बासीलाई विकल्प विना बसिरहेको ठाउँबाट विस्थापित गरिनु गलत भएको बताए। 

‘संसारमा सबैभन्दा ठूलो अपराध भनेको मान्छेलाई विकल्प नदिई बसिरहेको ठाउँबाट विस्तापित गर्नु हो’, भट्टराईले भने, ‘यो मानव अधिकार माथिको सबैभन्दा ठूलो प्रहार पनि हो।’

प्रकृतिको अत्याधिक दोहन र वस्तुकरण भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै खतिवडाले भने, ‘हामी संसारभरको विकास प्रकृयामा प्रकृतिलाई मान्छेले जित्नुपर्छ, त्यसका लागि यसको दोहन र वस्तुकरण गरेर बजारमा बेची नाफा कमाउनुपर्छ भन्ने अवधारणाको विरुद्धमा छौँ।’  

उनले प्रकृति र मानवलाई एकआपसमा जोड्नु पर्ने धारणा राख्दै प्रकृतिलाई अहिले जसरी नै वस्तुकरण गर्दा पृथ्वी नै नरहन सक्ने चेतावनी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad