देशभर फैलिरहेको कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा पनि क्रमशः बढ्न थालेको छ।
पछिल्ला दिन सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई नै संक्रमण हुन थालेपछि काठमाडौं थप जोखिममा रहेको विज्ञहरुले बताएका छन्।
एकपछि अर्को गर्दै काठमाडौंका नयाँ नयाँ ठाउँ र फरक फरक क्षेत्रका पेशाकर्मीमा देखिन थालेपछि यसको त्रास बढेको हो।
देशभर ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामै २६ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार अपरान्हको ब्रिफिङमा जानकारी दिए।
दुईजना चिकित्सक र काठमाडौं महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत् दुई र अन्य दुईसहित ४ जना काठमाडौंमै खटिएका प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
टेकु अस्पतालमा कार्यरत चिकित्सकलाई मंगलबार कोरोना पुष्टि भएको थियो।
अहिले काठमाडौं, ललितपुर र भक्तपुरका बिभिन्न ठाउँमा गरी २६ जना संक्रमित भेटिएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५ जना, पाटन अस्पतालमा ७ जना र शसस्त्र प्रहरी अस्पताल बलम्बुमा १४ जना कोरोना संक्रमित उपचाररत् छन्। यो संख्या विस्तारै बढ्न सक्ने मन्त्रालयकाे आँकलन छ।
रिजर्भ फोर्सको रुपमा राखिएको सेनामा समेत कोरोना प्रवेश गरिसकेको छ। एक उच्चअधिकृत सहित दुईजना सैनिकमा संक्रमण पुष्टि भएपछि सेनाले उच्चसतर्कता अपनाएको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले देशभर संक्रमितको संख्या बढेपछि काठमाडौं उपत्यकामा पनि त्यसको प्रभाव स्वतः पर्ने बताए।
‘संक्रमितको संख्या सबैतिर बढ्नु भनेको काठमाडौंमा पनि जोखिम थपिनु हो,’ डा. अधिकारीले नेपालखबरसँग भने, ‘त्यसैले हामीले अहिले उपत्यकाका तीनै जिल्लामा परीक्षण र कन्टयाक्ट ट्रेसिङलाई तीव्रता दिएका छौं।’
हाल देशका ३८ जिल्लामा संक्रमित फेला परेका छन्। त्यसमध्ये प्रदेश २ का सबै ८ जिल्लामा र प्रदेश ५ का केहि जिल्लामाा बढी संक्रमित फेला परेका छन्।
अन्यत्रभन्दा यी दुई प्रदेशका बिभिन्न जिल्लाबाट काठमाडौं उपत्यका आउने जानेको संख्या बढी हुने गरेको पाइएको छ।
बाहिरी जिल्लाबाट आउनेको संख्या बढेसँगै आगामी दिनमा काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्नसक्ने खतरा रहेको एकजना विज्ञ डाक्टरले बताए।
लकडाउनको समयमै कति मानिस संक्रमित रहेका जिल्लाबाट राजधानी प्रवेश गरे र उनीहरुको अवस्था के छ? भन्ने कुराको विवरण नभएसम्म यसको असर बारेमा यकिन गर्न गाह्रो हुने ती डाक्टरले बताए।
‘संक्रमित रहेका जिल्लाबाट काठमाडौं आएका शंकास्पद व्यक्तिहरु कति छन, प्रष्ट तथ्यांक छैन,’ ती डाक्टरले भने, ‘तिनीहरुको पहिचान र परीक्षण नभएसम्म उनीहरुबाट थप सर्दै जानसक्ने खतरा बढिरहन्छ।’
केहि दिनपहिले लकडाउनकै बेला काठमाडाैंका सडकमा देखिएका गाडीहरु। तस्बिर: प्रविन काेइराला
पहिचान र परीक्षणमै चुनौती
उपत्यकामा विभिन्न रोगको उपचार गर्न आउनेहरुबाट समेत संक्रमणको जोखिम बढ्नसक्ने विज्ञहरु बताउँछन्। किनभने उपचारको आवश्यकता भएकाहरुको आवतजावत रोक्न पनि नमिल्ने र उनीहरुसँग स्वास्थ्यकर्मी लगायत व्यक्तिहरु सोझै संलग्न हुनुपर्छ।
गतसाता त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराइएकी महिलाको केहि दिनपछि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएपछि सो अस्पतालमा ठूलो त्रास फैलिएको थियो।
त्यसलगत्तै सोहि अस्पतालको नाक–कान–घाँटी वार्डमा उपचार गराएकी एक बालिकामा पनि कोरोना पुष्टि भएपछि सो अस्पतालमा कार्यरत् डाक्टर, अन्य स्वास्थ्यकर्मीसहित धेरै जनालाई आइसोलेसनमा राख्नुका साथै कोरोना परीक्षण गराउनु परेको थियो।
हालसम्म सो अस्पतालका उनीहरु मध्ये कसैलाई कोरोना पुष्टि भने भएको छैन।
बिभिन्न जिल्लामा संक्रमित देखिएपछि पनि उपचार, अन्य जरुरी काम वा यसबीचमा बाहिर गएर फेरि काठमाडौं फर्केकाका हरुको संख्या ठूलो छ।
तर ती व्यक्तिहरुको पहिचान नभएको र केही मानिस रातारात पनि आएको हुँदा परिस्थिति जटिल बनेको ती विज्ञ डाक्टरको भनाई छ।
‘एकातर्फ बाहिरबाट आउनेहरु यहाँ रहेका मानिससँग घुलमिल हुँदा जोखिम बढेको छ भने यहिबीच सुरक्षाकर्मी र डाक्टरहरु नै संक्रमित हुँदा स्थिति जटिल हुनसक्ने देखिन्छ,’ उनले भने।
यस्तो अवस्थामा काठमाडौं भित्रिनेको पहिचान र अभिलेख राख्न निकै जरुरी भएको उनको भनाई छ।
अझै पनि सुरक्षाका उपाय र रोकथाम तथा उपचार प्रक्रियालाई व्यवस्थित गर्नसके स्थिति भयावह हुनबाट रोक्न सकिने ती डाक्टरको विश्वास छ।
विज्ञहरुले थप जोखिमको संभावना औंल्याउँदा सरकारको विश्लेषण र संक्रमण फैलिन नदिनेबारे के गरिरहेको छ त?
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एउटै समयमा धेरै संक्रमित नथपिओस भनेर लागिपरेको बताए।
‘संक्रमित थपिने कुरालाई पुरै रोक्न त सकिदैँन तर एउटै समयमा धेरैमा संक्रमण नफैलियोस भन्नेमा मन्त्रालयले प्रयास केन्द्रित गरिरहेको छ,’ डा. अधिकारीले थपे।
अहिलेसम्म भयावह हुने संभावना भने नदेखिएको सरकारी अधिकारी बताउँछन्।
पहिलाे पटक माघको ९ गते चीनको वुहानबाट आएका एक व्यक्तिमा काठमाडौंमा कोरोना संक्रमण देखिएको थियो।
दाेस्राे केसकाे रुपमा त्यसको २ महिनापछि चैत १० गते पनि काठमाडौंकै एक महिलामा कोरोना देखियो।
त्यसपछि क्रमशः अन्य जिल्लामा फैलिएको कोरोना बैशाखको २ गते फेरि काठमाडौंमा देखियो। पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा संक्रमण पुष्टि भएको थियो।
ती सबै विदेशबाट आएका थिए र उनीहरुमा सामान्य (माइल्ड) लक्षण देखिएका थिए र उनीहरु हवाईमार्गबाट आएका कारण पहिचान र परीक्षण गर्न गार्हो थिएन।
काठमाडौंमा धेरै दिनको अन्तरालमा एक–दुई जनामा फाट्टफुट्ट देखिएको संक्रमण केहि दिनयता भने फटाफट धेरै जनामा देखिन थालेको छ र ती व्यक्तिमा कोबाट सरेको हो भन्ने पहिचान हुन नसक्दा रोकथाम बढि चुनौतिपूर्ण बनेको छ।
त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर पछि कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाबाट उनकै शिशु, पति र आफन्त सहित हालसम्म रिपोर्ट आएकामा संक्रमण नसरेको पाइएको छ।
तर, उनमा चाहिँ कहाँबाट सर्यो भन्ने अनुमान सम्म हुन नसक्नुले निकै त्रास थपेको छ।
ठूलो जनसंख्या र राेक्नै मुश्किल आवतजावत
काठमाडौंको बसोबासको प्रकृतिका कारण यहाँ भेटिने धेरै ‘केस’ ठीक त्यस्तै हुनसक्ने विज्ञहरुको बुझाई छ। जुन कोरोना संक्रमण रोक्न सबैभन्दा चुनौतिपूर्ण हुनेछ।
अधिकांश ठूला अस्पताल यहिँ छन् र त्यहाँकै गतिबिधि थप जोखिमपूर्ण बन्दैछन्।
उता विदेशमा रहेका लाखौं नेपालीलाई ल्याउनुपर्ने छ। उनीहरु आउने मुख्यद्वार पनि काठमाडौं नै हुनेछ।
करिब ५० लाख जनसंख्या रहेको उपत्यकाका तीन जिल्लामा देशका सबै भागबाट आएकाहरुको अन्तरघुलन छ भने अर्कोतर्फ प्रशासनिक, राजनीतिक तथा व्यवसायिक गतिबिधि पुर्णतः रोक्न असंभव छ।
यसैबीच, मन्त्रालयले क्वारेन्टिनको संख्या बढाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए।
देशभर रहेका क्वारेन्टिनहरु मापदण्ड अनुसारका नभएको पाइएपछि मन्त्रालयले निर्देशिका नै जारी गरेको उनले बताए।
अहिले भक्तपुरको विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा बनाइएको क्वारेन्टिनमात्र मापदण्ड अनुसारको रहेको छ।

प्रतिक्रिया