समाज


आज यी प्रदेशका पहाडी र हिमाली भेगमा मध्यमसम्म वर्षा हुने सम्भावना

आज यी प्रदेशका पहाडी र हिमाली भेगमा मध्यमसम्म वर्षा हुने सम्भावना

नेपालखबर
जेठ ६, २०८३ बुधबार ८:३०, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बुधबार बिहान) कोसी, मधेस र बागमती प्रदेशसहित गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाडी भेगमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। अनि कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ।

यस क्रममा दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेस प्रदेशसहित लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ भने हिमाली भेगमा हिमपातको सम्भावना छ। अनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तातो दिन हुने सम्भावना छ।

यस्तै राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी र हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

यस क्रममा राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।

धुम्म भयो काठमाडौँ, मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौँ उपत्यकाकौ मौसम आज बिहानैदेखि धुम्म भएको छ। अर्थात् आकाशभरि बादल लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार गण्डकी र बागमती प्रदेशको बिचमा पानी पार्ने प्रणाली विकास भएकाले काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको हो। 

‘काठमाडौँ उपत्यकामा तत्कालदेखि नै वर्षाको सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘मध्यमसम्म वर्षा हुने अनुमान छ। 

उनका अनुसार दिउँसो १२/१ बजे उतादेखि भने काठमाडौँ उपत्यकाको मौसम केही खुल्ने सम्भावना छ।

‘विकसित मौसम प्रणाली पूर्व लागेपछि काठमाडौँ उपत्यकाको मौसम पनि केही खुल्ने सम्भावना छ’, मौसमविद् अर्यालले भने, ‘त्यसो भनेर पूरै छ्याङ त हुने होइन अहिलेभन्दा केही खुल्ने र घाम देखिने सम्भावना छ।’  

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad