त्रिभुवन विश्वविद्यालयले स्नातक तह चार वर्षे बीएडका सबै पाठ्यक्रम परिमार्जन गरी वार्षिक प्रणालीबाट सेमेस्टरमा लग्ने तयारी गरेको छ।
शिक्षाशास्त्र संकाय डीनको कार्यालयले शिक्षाशास्त्रका चार वर्षे स्नातक तहको पाठ्यक्रम परिमार्जनका लागि काम सुरु भएको जनाएको छ। यसका लागि चार वर्षे स्नातक तहका २१६ वटा विषयका पाठ्यपुस्तक परिमार्जन गर्न लागिएको छ।
सबै पाठ्कपुस्तक परिमार्जन गर्न शिक्षाशास्त्र संकायअन्तर्गत १६ वटा विषय समितिका ८० जना विषय समिति सदस्य शिक्षक चयन गरिएका छन्। उनीहरूलाई तालिम पनि दिइएको छ।
नेपाल सरकार, युरोपियन युनियन र फिनल्यान्डको विदेश मन्त्रालयले आर्थिक सहयोगमा जेठ ३ र ४ गते तालिम प्रदान गरिएको हो। उनीहरूलाई ‘टेक्निकल सपोर्ट कर्पोरेसन टु द स्कुल इजुकेसन सेक्टर (टीईसीएसईएस) नेपाल’ कार्यक्रममा विज्ञहरूले तालिम दिएको शिक्षाशास्त्र संकायका डीन प्रा.डा. वेदराज आचार्यले जानकारी दिए।
शिक्षकलाई टीईसीएसईएस नेपालका विज्ञ डा. टुवी लेपानन, उपप्राध्यापक डा. प्रेमप्रसाद पौडेल र डा. कमलराज देवकोटाले प्रशिक्षण दिएका थिए। तालिमलाई विशेष अन्तरक्रियात्मक ढंगले सञ्चानल गरिएको शिक्षाशास्त्र संकायका सहायक डीन डा. बुद्धराज खनियाले जानकारी दिए।
Shares

प्रतिक्रिया