समाज


महामारीका बेला घरघरमै उपचार गर्नुपर्ने अवस्था आउन सक्छः मुख्यमन्त्री पोखरेल

महामारीका बेला घरघरमै उपचार गर्नुपर्ने अवस्था आउन सक्छः मुख्यमन्त्री पोखरेल

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ६:२७,

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जारी कोरोना संक्रमणको अवस्था थप जटिल बनेमा संक्रमित व्यक्तिको घरघरमै उपचार गर्नुपर्ने अवस्था आउनसक्ने बताएका छन्।

पूर्वाधारले सम्पन्न मुलुकमा समेत सामान्य अवस्थाका संक्रमितको उपचार डाक्टरको परामर्शमा घरमै हुने गरेको बताउँदै उनले संक्रमितको प्रत्यक्ष सम्पर्क वा संक्रमितले प्रयोग गरेका सामग्री बाहेकवाट कोरोना भाईरस सरेको तथ्य नभएको समेत जिकिर गरेका छन्।

‘एउटै घरमा पनि सामाजिक दूरी र अलग अलग सामानको प्रयोग गरी विरामीको स्याहार गरी आफू सुरक्षित हुन सकिन्छ। तर हामी अझै आइसोलेसन केन्द्र र अस्पतालमा विरामी राखेर उपचारगर्ने योजनामा छौ,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्। ‘महामारीको अवस्थामा त घरघरमै उपचार गर्नुपर्ने अवस्था आउन सक्छ।’

क्वारेन्टाइन र आइसोलेसन केन्द्र बस्तीवाट टाढा र नजिक भन्ने विषयमा स्थानिय स्तरमा हुने बहसले व्यवस्थापनमा चुनौती खडा भइरहेको उनले बताए।

‘पर्याप्त र व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको अभावमा संक्रमण फैलने खतरा हुन्छ। हामी कहाँ भएका सीमित पूर्वाधारको अधिकतम प्रयोग गरेर नै यस महामारीविरुद्ध जुध्नु पर्ने बाध्यता छ,’ उनले भनेका छन्। ‘बिभिन्न बहानामा त्यसलाई प्रयोग गर्नवाट रोक्न खोज्ने हो भने महामारीलाई रोक्न सकिदैन।’

सँगै हिँडिरहेको व्यक्ति पनि संक्रमणमा परेको हुनसक्ने हुँदा सामाजिक दुरी अनिवार्य रुपमा कायम गर्नुपर्ने, भिडभाडमा जान नहुने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।

‘क्वारेन्टाइन र आइसोलेसन केन्द्र यहाँ हुदैन, त्यहाँ हुदैन भन्ने बहसमा भन्दा कसरी व्यवस्थित रुपमा संचालन गर्ने भन्न कुरामा छलफल गरौं,’ उनले भनेका छन्, ‘व्यवस्थित गर्न रचनात्मक सुझाव सम्वन्धित निकायलाई उपलब्ध गराउँ। अनावश्यक बहस, भ्रम र त्रासले कोरोना बिरुद्धको हाम्रो लडाई कमजोर बन्न सक्छ।’

क्वारेन्टाइन र आइसोलेसन केन्द्र जति धेरै तयार गर्न र व्यवस्थित गर्न सकियो त्यति नै कोरोना भाइरसको संक्रमणवाट समुदायलाई जोगाउन सकिने र विरामीलाई छिटोभन्दा छिटो निको बनाउन सकिने हुँदा त्यसतर्फ सबै लाग्नुपर्ने उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad