समाज


काठमाडौँलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’

काठमाडौँलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १२:२२, काठमाडौँ

काठमाडौँ महानगरपालिकालाई ‘सडक मानवमुक्त’ बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालनमा ल्याइएको छ। 

काठमाडौँ महानगर, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २२ गतेदेखि काठमाडौँ–८ स्थित तिलगंगामा स्क्रिनिङ सेन्टर सञ्चालन गरिएको हो। अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक सहयोगापेक्षीको उद्धार गरिएको छ। 

उद्धार गरिएकामध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने केही व्यक्ति सेन्टरको पर्खाल नाघेर भागेका छन्।। उद्धार गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई सोही दिन साँझसम्म परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ। 

महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले मंगलबार सेन्टरको स्थलगत निरीक्षण गर्दै पूर्वाधार, स्वास्थ्य सुविधा र व्यवस्थापनबारे जानकारी लिएकी छन्। उद्धार गरिएका व्यक्तिसँग कुराकानी गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुपर्ने कारणबारे चासो राखेकी थिइन्। 

‘आज बिहान उद्धार गरिएका व्यक्तिहरूमध्ये ५० प्रतिशतभन्दा बढीलाई स्क्रिनिङ सेन्टरमार्फत पहिचान गरी साँझसम्म परिवारसँग पुनर्मिलन गराउन सफल भएका छौँ। केन्द्रको स्थापनाले काममा थप गति दिएको छ,’ उनले भनिन्, ‘जसको कोही छैन, उसको लागि सरकार छ भन्ने अनुभूति दिलाउनु हाम्रो मुख्य प्राथमिकता हो। कोही पनि नागरिक भोकै वा बेवारिसे भएर सडकमा बस्न नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।’

सडकमा आश्रितको व्यवस्थापन गर्दा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइने र असहाय एवं बेवारिसेलाई मात्र आश्रममा राखिने प्रष्ट पारिन्। महानगरले हाल बिहान, दिउँसो र राति गरी तीन वटा सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ। 

विशेषगरी पशुपति लगायतका धार्मिक र पुरातात्विक क्षेत्रमा सडक आश्रितको संख्या धेरै भएकाले ती क्षेत्रमा केन्द्रित भएर काम भइरहेको छ। स्क्रिनिङ सेन्टरको स्थापनासँगै अब उद्धार गरिएका व्यक्तिको वास्तविक अवस्था पहिचान गर्न सहज हुने र अभियानले थप गति लिने महानगरको विश्वास छ। 

कार्यवाहक मेयर डंगोलकाअनुसार सडकमा रहेका असहाय तथा अलपत्र नागरिकको उचित व्यवस्थापनका लागि महानगरको टोली बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा खटिएको छ। विशेषगरी पशुपति लगायतका मठमन्दिर र सम्पदा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा काम भइरहेको उनले जानकारी दिइन्। 

महानगरले सञ्चालनमा ल्याएको स्क्रिनिङ सेन्टरले सडकबाट उद्धार गरिएका व्यक्तिको अवस्था वर्गीकरण गर्नेछ। पारिवारिक अवस्था भएका, असहाय, अशक्त र उपचारको आवश्यकता भएका व्यक्तिलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न यस केन्द्रले सहज बनाउने महानगरको विश्वास छ। 

पहिलो दिन उद्धार गरिएकामध्ये ६ जना महिला र २२ जना पुरुष छन्। उनीहरू २५ देखि ७८ वर्ष उमेर समूहका छन्। ठेगानाका आधारमा उनीहरू सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखा लगायतका जिल्लाका रहेका छन्। 

उद्धार गरिएकामध्ये चार जनामा मानसिक स्वास्थ्य समस्या देखिएको छ भने एक जना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन्। ह्विलचेयर र वैशाखी प्रयोगकर्तालाई पनि सेन्टरमा ल्याएर आवश्यक उपचार र स्याहारको व्यवस्था मिलाइएको छ। 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई थप व्यवस्थित र सुरक्षित बनाउन कोषले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad