समाज


दशरथ रंगशालामा सुकुमवासीको लगत संकलन गरिँदै

दशरथ रंगशालामा सुकुमवासीको लगत संकलन गरिँदै

नेपालखबर
बैशाख १२, २०८३ शनिबार १४:५०, काठमाडौँ

काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी तथा भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। 

सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। ‘वास्तविक सुकुमबासीको परिवार सङ्ख्या, घरमुलीको नामलगायत विवरण सङ्कलन गरिरहेका छौँ। त्यसपछि तत्कालका लागि तोकिएको सेल्टरमा पठाउँछौँ’ उनले भनिन्, ‘सेल्टरमा उहाँहरूलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था सरकारले गरेको छ।’

अस्थायी बसोबासस्थलमा सुकुमवासीको व्यवस्थापन भएपछि दोस्रो चरणमा राज्यले जमिन प्रदान गर्ने कार्य थालनी गरिने उनको भनाइ छ। थापाथलीमा निर्माण गरिएका संरचना भत्काइएपछि ती परिवारलाई सरसामानसहित रंगशाला ल्याइएको हो। 

अहिले पनि सुकुमवासी आफ्नो जाने थातथलो कहीँ नभएको भन्दै सरकारी सहयोगको खोजीमा रंगशाला आउने क्रम जारी छ। ‘वास्तविक सुकुमवासीहरू यहाँ आउनुभएको छ, अन्य आफ्नो व्यवस्था गरी गइसक्नुभएको छ,’ प्रमुख केसीले भनिन्, ‘केही परिवार यहाँ आएर पनि सरकारले तोकेको ठाउँमा नबस्ने भनी निस्कनुभएको छ।’

रंगशालाभित्रै सुकुमवासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली खटिएको छ। सुकुमवासी परिवारलाई सुरक्षित बसोबासस्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली खटिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad