धादिङ र बझाङमा पानीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ। त्यसैगरि भोजपुर र दाङमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ सेलाजुङ बस्ने बुधलाल चेपाङका छोरा ५ वर्षीय सबिन चेपाङको घर नजिकै रहेको सिचाई पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो।
खेल्ने क्रममा उनी पानी ट्याङ्कीमा डुबेका हुन्।
त्यसैगरि बझाङको बित्थडचिर गाउँपालिका-१ माथिल्लो बित्थडचिर बस्ने गगन बोहराका पनि ५ वर्षीय छोरा जेनिस बोहरा र सोही ठाउँ बस्ने सन्तोष बोहराको छोरी ६ वर्षीय प्रिन्सा बोहराको शौचालयको लागि खनेको खाडलमा रहेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरू पनि खेल्ने क्रममा खाडलमा खसेका हुन्।
त्यसैगरि भोजपुर र दाङमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
भोजपुरको हतुवागढी गाउँपालिका-६ सुनबालुवास्थित अरूण नदीमा एक युवकको शव भेटिएको प्रहरीले जनाएको छ।
करिब २० वर्षीय ती युवकको नाम, थर र वतन खुल्न बाँकी छ।
त्यसैगरि दाङको राजपुर गाउँपालिका-२ गैरा बस्ने ४३ वर्षीया सरिता राई आफ्नै घरमा मृत भेटिएकी छन्।
उनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया