समाज


सशस्त्र प्रहरीमा ७ डीआईजी रिक्त, वरीयता बिग्रिने डरले ३ महिनादेखि बढुवा ठप्प

सशस्त्र प्रहरीमा ७ डीआईजी रिक्त, वरीयता बिग्रिने डरले ३ महिनादेखि बढुवा ठप्प

उजिर कार्की
बैशाख १, २०८३ मंगलबार ९:४, काठमाडौँ

सशस्त्र प्रहरी बलमा ७ जना नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त भएको छ। तीन महिनादेखि डीआईजीको पद खाली भए पनि बढुवा भने हुन सकेको छैन। डीआईजीले कमान्ड गर्ने कार्यालय निमित्तको भरमा छन्। दुई वटा बाहिनी नै एसएसपीको कमान्डमा चलिरहेका छन्। 

२०८२ पुस २२ गते तीन जना डीआईजी अनिवार्य अवकाश भएपछि दरबन्दी रिक्त भएको हो। यो संख्या फागुनमा थपियो। सरकारले तीन वटा नयाँ दरबन्दी थप गरेपछि रिक्त दरबन्दीको संख्या ७ पुगेको हो। तर ७ जना डीआईजीको दरबन्दी रिक्त भइसक्दा पनि सरकारले बढुवामा चासो दिएको छैन। 

पुस २२ गते सशस्त्र प्रहरीका डीआईजीहरू कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्बाङ अवकाशमा गए। उनीहरू डीआईजीको चार वर्ष र थपिएको एक वर्ष पदावधि पनि पूरा गरेर अवकाश भएका हुन्। तीनै जनाको पदावधि सरकारले गत वर्ष नै थप गरिएको थियो। थपिएको अवधि पनि सकिएसँगै उनीहरू अनिवार्य अवकाश भएका हुन्।

फागुन १ गते अर्का डीआईजी कुमार न्यौपाने पनि अवकाश भए। न्यौपाने भने ३० वर्षे सेवा अवधिका कारण अवकाश भएका हुन्। उनी चार वर्ष ८ महिना डीआईजीका रूपमा कार्यरत रहे। गएको असारमा उनको चार वर्षे पदावधि सकिएपछि सरकारले पदावधि थपको निर्णय गरेको थियो। थपिएको अवधि बाँकी भए पनि उनी भने ३० वर्षे सेवा अवधिका कारण अवकाश भएका हुन्।

यस्तै, सरकारले सशस्त्र प्रहरीमा तीन जना डीआईजीको दरबन्दी थप गरेको छ। जसमध्ये दुई वटा दरबन्दी साधारण समूहमा र एउटा कानुन समूहतर्फ छ। थप भएका दरबन्दीमा पनि बढुवा नहुँदा डीआईजी राख्ने भनेका विभागमा एसएसपी कार्यरत छन्। 

नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत र नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलाली एसएसपीको भरमा छ। यी कार्यालय प्रदेशस्तरीय कार्यालय हुन्। 

यस्तै स्टाफ कलेज, सीमा सुरक्षा विभागमा पनि डीआईजी छैनन्। मानव स्रोत र कार्य विभागमा पनि दुई–दुई जना डीआईजी राख्ने भनिएकोमा एक–एक जना मात्रै छन्। 

कानुनमा अर्यालको बढुवाले ल्याउनेछ वरीयतामा उथलपुथल
मंसिर २ गते थप गरिएको कानुनको डीआईजीमा कानुन शाखाका प्रमुख एसएसपी युवराज अर्याल बढुवा हुने निश्चित छ। १४ जनाको दरबन्दी रहेको कानुन शाखामा डीआईजी थप गरिएसँगै तल्लो तहमा पनि तत्कालै बढुवा हुनेछ। 

सिसं २ का युवराज अर्याललाई डीआईजीमा बढुवा गर्न कुनै समस्या नरहेको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले बतायो। तर उनको बढुवापछि हुने तल्लो तहको बढुवाले भने वरीयतामा समस्या पार्ने देखिएको छ। 

साधारण समूहतर्फ पनि सिसं २ कै एसएसपीहरू बढुवाको प्रतिस्पर्धामा छन्। सिसं २ कै दुई जना एसएसपी पहिल्यै डीआईजी भइसकेका छन्। दीपेन्द्र कुँवर र विष्णु भट्ट डीआईजी भइसकेका छन्। 

तर कानुनको बढुवाले भने साधारण समूहतर्फको टोलीलाई धेरै पछि पार्ने भएकाले असन्तुष्टि त्यहाँबाट सुरु हुने सशस्त्र प्रहरीका अधिकारीहरूको दाबी छ। यसअघिका गृहमन्त्री ओमप्रकाश अर्यालले पनि डीआईजी बढुवा तत्कालै गर्न चाहेका थिए। तर वरीयतामा यसरी असर पर्ने भएपछि उनी बढुवा नगरी बिदा भएका थिए। 

गृहमन्त्री सुधन गुरुङले पनि यताको बढुवामा चासो दिएका छैनन्। तर, गृह मन्त्रालयका एक सहसचिवले भने– ‘सशस्त्र प्रहरीका हालकै आईजीपीको पालामा बढुवा हुने सम्भावना छ।’

१४ जनाको दरबन्दी रहेको कानुनमा ५ जना अधिकृत छन्। एक जना इन्सपेक्टर बेसिक तालिम गरिरहेका छन्। 

अर्याल डीआईजी भएपछि एसपी छवि पाण्डे एसएसपी हुनेछन्। डीएसपी भुवन भण्डारी, बद्री भुसाल, सत्यदेवी बस्नेत छन्। उनीहरू मध्येबाट एक जना एसपीमा बढुवा हुने छन्। 

एसएसपीका दाबेदार पाण्डे सिसं ४ का हुन्। जबकि साधारण समूहतर्फ सिसं २ कै २ जना बाहेक एसपी र एसएसपी नै छन्। यता कानुनमा भने एकै पटक सिसं ४ का अधिकृत एसएसपी बन्नेछन्। साधारण समूहतर्फ सिसं ३ का सबै अधिकृतहरू एसपी नै छन्। 

वरीयतामा यहाँ मात्रै असर पर्दैन। पाण्डे एसएसपीमा बढुवा भएपछि सिसं ६ का डीएसपी भुवन भण्डारीलाई एसपीमा बढुवा गर्नुपर्ने हुन्छ। 

साधारण समूहतर्फ सिसं ४ का १४ जना मात्रै एसपी भएका छन्। बाँकी सबै डीएसपी नै छन्। सिसं ५ का पनि सबै जना डीएसपी नै छन्। सिसं ६ का भण्डारीलाई एसपीमा बढुवा गर्दा दुई ब्याच अगाडिको टोली भने तल्लो दर्जामा रहनेछ। 

यसले कमान्डमा असर पर्ने दाबी सशस्त्र प्रहरीका अधिकारीहरू गर्छन्। कानुन शाखाको बढुवाको असर यतिमै रोकिँदैन। डीआईजी बन्ने अर्यालको सेवा अवधि २ वर्ष ६ महिना मात्रै बाँकी छ। 

त्यसपछि रिक्त हुने डीआईजीमा छवि पाण्डेलाई बढुवा गर्नु पर्नेहुन्छ। जबकि अहिले एसएसपी बनाउँदा नै वरीयतामा असर पर्छ भनिएका पाण्डेलाई अढाई वर्षपछि डीआईजी बनाउनु पर्ने अवस्था आउने भएकाले सशस्त्र प्रहरीमा यो बढुवाप्रति असन्तुष्टि देखिन्छ। 

यसअघि गृहमन्त्री अर्यालले यही कारण बढुवा रोकेका थिए। 

६ डीआईजीको प्रतिस्पर्धामा सिसं २ को टोली
साधारण समूहतर्फ रिक्त ५ डीआईजीका लागि भने १३ जना एसएसपी प्रतिस्पर्धी छन्। जसमध्ये १२ जना सिसं २ का हुन्। उनीहरूको ब्याचबाट दुई जना मात्रै डीआईजी भएका छन्। डीआईजी कुँवर र भट्ट उनीहरूकै ब्याचका हुन्। 

उनीहरूबाहेक नेपाल प्रहरीको सइबाट आएका प्रवीण कँडेल बढुवाको प्रतिस्पर्धामा छन्। तर, उनलाई बढुवा गर्ने सम्भावना कम छ। 

उनीबाहेक दोस्रो लटमा सशस्त्रकै निरीक्षकमा भर्ना भएका दिगविजय सुवेदी, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुदिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल प्रतिस्पर्धामा छन्। 

यस्तै राजेन्द्र खड्का, उद्धव न्यौपाने, नरेन्द्र सेन, शंकर खनाल र किरण ढुंगाना पनि एकसाथ एसएसपी भएका हुन्। उनीहरू कामु एसएसपी पटकपटक भए पनि बढुवा हुँदा भने एकसाथ २०७९ साउनमा गरिएको थियो। 

वैशाख १८ गतेभित्रमा बढुवा नगरिएमा भने अर्को पनि दरबन्दी रिक्त हुन्छ। हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आईजीपीको चार वर्षे पदावधि पूरा गरेर अवकाश हुन्छन्। उनको अवकाशपछि हालका तीन एआईजी नारायणदत्त पौडेल, वंशी दाहाल र गणेश ठाडा मगरमध्ये एक जना आईजीपी बन्छन्। 

रिक्त एआईजीमा हालका डीआईजीमध्ये एक जना बढुवा हुँदा अर्को पनि डीआईजीको दरबन्दी रिक्त हुनेछ। तर छलफल चलिरहेकाले चाँडै बढुवा समितिको बैठक बस्ने सम्भावना रहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad