कार्यक्षेत्रको जिम्मेवारी सकेर बासस्थानतर्फ फर्किँदै गरेका एक ट्राफिक प्रहरी अधिकृत सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। तारकेश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा आइतबार राति सवा ११ बजे विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा ३२ वर्षीय प्रहरी इन्स्पेक्टर अभय लामा गम्भीर घाइते भएका हुन्।
प्रहरी प्रभाग बालाजुका प्रहरी ड्युटी अफिसरकाअनुसार घटना गए राति भएको हो। नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामा सवार बाप्र ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनालगत्तै उद्धार गरी उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
रामेछाप घर भई तारकेश्वर–७ फुटुङ बस्दै आएका लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत छन्। प्रहरी प्रभाग नेपालटारका अनुसार ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुर मनहरी–५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ।
घाइते इन्स्पेक्टर लामा संगठनभित्र एक मेहेनती र संघर्षशील अधिकृतका रूपमा चिनिन्छन्। २०७२ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका उनले खुल्ला प्रतिस्पर्धाबाटै प्रहरी सहायक निरीक्षक (असई) र पछि पुनः खुल्ला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नाम निकालेका थिए। उनको स्वास्थ्य अवस्था सुधार भइरहेको छ।
Shares

प्रतिक्रिया