पाठ्यक्रम विकास केन्द्र (सीडीसी) ले ‘क्रेडिट आवर’ प्रभावित नगर्ने गरी पाठ्यक्रम समायोजनको तयारी थालेको छ। सरकारले नयाँ शैक्षिक सत्र १५ दिन पछि सारेर आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि केन्द्रले पाठ्यक्रम समायोजन गर्ने तयारी गरेको जनाएको हो।
केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरेले पाठ्यक्रम समायोजन गरी कसरी मिलाउने भन्नेबारे छलफल भइरहेको बताए। ‘२०७७ सालमा कोरोना संक्रमणका कारण पाठ्यक्रम प्रभावित भएपछि पाठ्यक्रम समायोजन गरेको थियौँ। यो पटक पनि त्यस्तै निर्णय गर्ने तयारी गरेको छौँ,’ घिमिरेले भने, ‘केही दिनमा निर्णय गरेर सार्वजनिक गछौँ।’
निर्देशक घिमिरेले अहिले विकल्पबारे छलफल भइरहेको बताए। ‘शैक्षिक सत्र १५ दिन पछि स¥यो। आइतबार सार्वजनिक बिदा हुने भएपछि कसरी मिलाउन सकिन्छ भनेर अहिले विकल्पहरूमा छलफल गरिरहेका छौँ। जुन विकल्प उपयुक्त हुन्छ, त्यसमा निर्णय गर्नेछौँ,’ निर्देशक घिमिरेले नेपालखबरसँग भने, ‘केन्द्रले क्रेडिट आवर प्रभावित नगर्ने गरी पाठ्यक्रम समायोजन गर्न सुरु गरेका छौँ।’
शैक्षिक क्यालेन्डर प्रभावित हुन नदिन शिक्षा मन्त्रालयले कार्ययोजना बनाउँन थालेको पनि उनले बताए। ‘वैसाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र आइतबार बिदा गर्ने निर्णय गरेपछि शैक्षिक सत्र कसरी अघि बढाउने भनि मन्त्रालयले तयारी सुरु गरेको छ,’ उनले भने।
भर्ना अभियानबारे निर्णय हुँदै
शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियान कसरी सञ्चालन गर्ने भनेर छलफल गरेको छ। केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले भर्ना अभियान कहिले सुरु गर्ने, कक्षा सञ्चालन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको बताए।
‘वैशाख २ गतेदेखि सुरु हुने भर्ना अभियान कहिलेदेखि सुरु गर्ने, विद्यालय बाहिर रहेका विद्यार्थीलाई कसरी विद्यालयमा ल्याउने भन्ने छलफल भइरहेको छ,’ पराजुलीले भने, ‘आज बेलुकासम्म केही निर्णय आउँछ।’
सरकारले विद्यालय बाहिर रहेका विद्यार्थीलाई ल्याउन प्रत्येक वर्ष वैसाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष शैक्षिक सत्र पछाडि सारिएपछि कसरी सुरु गर्ने भनेर छलफल भइरहेको प्रवक्ता पराजुलीले बताए।
पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण सरकारले वैसाख १५ गतेदेखि सुरु गर्ने र आइतबार बिदा दिने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया