नेपालमा हालसम्म फेला परेका कोरोना संक्रमितमध्ये ७० प्रतिशत ४० वर्षमुनिका छन्।
संक्रमितको ठूलो हिस्सा युवा रहेका कारण उनीहरुमा गम्भीर लक्षण नदेखिएको हुनसक्ने विज्ञहरु बताउँछन्। त्यस्तै, युवाहरु बढी हिँडडुल गर्ने भएकाले उनीहरुले धेरैमा भाइरस सार्न सक्ने जोखिम पनि रहने विज्ञहरुको चिन्ता छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार अहिलेसम्म २ सय ५८ जनालाई कोरोना संक्रमण भएको छ। तीमध्ये ४० वर्षसम्मका एक सय ७९ जना छन्।
त्यसमध्ये पनि २१ देखि ३० वर्षसम्मका सबैभन्दा धेरै ७४ जना छन्। यही उमेरका अधिकांश युवा रोजगारीका लागि घर छोडेर सहर वा विदेश जाने गर्दछन्।
त्यस्तै, ३१ वर्षदेखि ४० वर्षसम्मका ६७ जनामा कोरोना संक्रमण देखिएको छ। यो दोस्रो सबैभन्दा बढी संक्रमित भएको उमेर समूह हो।
त्यसपछि ४१ देखि ८३ वर्षसम्मका ५८ जनामा संक्रमण भएको छ। यसमा पनि ४१ देखि ५० वर्षका ३० जना छन्। ५१ देखि ६० वर्षबीचका १५ जना छन् भने ६१ देखि ७० वर्षसम्मका १० जना छन्।
त्यस्तै, ७१ देखि ८० सम्मका २ जना र ८० वर्षमाथिका एक जना छन्। सबैभन्दा बढी उमेरकी ८३ वर्षीया महिलाले पनि कोरोनालाई जितेकी छिन्।
४१ वर्ष देखि ८३ वर्षसम्मका १० जना निको भएर घर फर्किएका छन्।
११ देखि २० वर्षसम्मका ४८ जना संक्रमित छन्। जसमध्ये १० वर्षमुनिका ११ बालबालिकामा भाइरस देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति तथा योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले युवाहरु बढी हिँडडुल गर्ने भएकाले उनीहरुमा धेरै संक्रमण देखिएको बताए।
‘नेपालमा बढीजसो मुभमेन्ट युवाहरुको हुन्छ,’ डा. लोहनीले नेपालखबरसँग भने, ‘वैदेशिक रोजगारीमा जाने पनि युवाकै संख्या बढी छ, सोही कारण जोखिमको केन्द्रमा उनीहरु नै छन्।’
यद्यपि यसबारे मन्त्रालयले छुट्टै अनुसन्धान गरेको छैन।
‘चीन, अमेरिका, इटली, बेलायत, स्पेन र फ्रान्सजस्ता देशमा संक्रमितको संख्या हेर्दा काम गर्ने उमेर समूहका युवाभन्दा उमेर छिप्पिएकाहरु बढी छन्, तर नेपालमा युवाहरु बढी प्रभावित भएका छन्,’ उनले थपे।
पछिल्ला दिन कार्यक्षेत्रमा खटिएका प्रहरी, पत्रकार र नर्सहरुलाई समेत कोरोना संक्रमण भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले युवाहरु अर्थोपार्जनमा सक्रिय हुनाले उनीहरुमा बढी संक्रमण देखिँदा भाइरस फैलिने जोखिम बढ्ने बताए।
‘नेपालमा रोजगारी खोज्न जाने युवाहरु विदेश गए, तिनै युवा फर्किए,’ उनले भने, ‘बाहिर हिँडडुल गर्नुपर्ने भएकाले अहिले युवा जोखिममा छन्। अब तिनै युवा गाउँघरतिर गएर परिवारसँग भेट गर्न थालेपछि विस्तारै विस्तारै वृद्धवृद्धा तथा अरुमा पनि संक्रमण देखिन थाल्छ।’
विद्यालय खोल्ने हो भने विस्तारै बच्चाबच्चीमा पनि कोरोना देखिन सक्ने खतरा रहेको उनी बताउँछन्।
लकडाउन खुल्नेबित्तिकै भाइरस व्यापक हुने खतरा रहेकै कारण अझै केही समय यसलाई लम्ब्याउनुपर्ने विज्ञहरुको राय छ।
कति जोखिममा छ काठमाडौं?
केही समयअघि पूर्वको उदयपुरमा बढी संक्रमित देखिएका थिए। अहिले पश्चिमी क्षेत्रका बाँके, रुपन्देही र पर्सामा बढी संक्रमित फेला परेका छन। यी क्षेत्रबाट ठूलो संख्यामा मानिसहरु उपत्यका भित्रिसकेकाले यहाँ पनि भाइरस फैलिनसक्ने जोखिम रहेको विज्ञहरुको भनाइ छ।
संक्रमित क्षेत्रबाट मानिसहरु काठमाडौं आउने क्रम बढेपछि सरकारले नाकामा कडाइ गरेको छ।
अहिलेसम्म काठमाडौंमा ६ र भक्तपुरमा दुईजनामा कोरोना देखिएको छ।
सबैभन्दा सुरुमा चीनको वुहानबाट आएका युवालाई काठमाडौंकै टेकु अस्पतालको आइलोसनमा राखिएको थियो। त्यसपछि युरोपबाट फर्किएकाहरुमा संक्रमण देखिएको थियो।
तर, जब भारतमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो त्यसको असर सीमा जोडिएका जिल्लामा देखिन थालेको हो।
‘अहिले भारतबाट आएकाहरुका कारण तराई लगायतका केही जिल्लामा संक्रमितको संख्या बढेको हो,’ डा. बास्तोलाले भने, ‘तराईबाट तिनै संक्रमित काठमाडौं आउन थालेपछि यता पनि देखिन थाल्यो, लडडाउन पालना गरिएन भने यो संख्या अझै बढ्छ अबको जोखिम काठमाडौं सर्ने खतरा छ।’
अहिले वीरगञ्ज र बुटवलका कोरोना अस्पतालमा बिरामी भरिभराउ भइसकेका छन्। वीरगञ्जको ७० शय्याको नारायणी अस्पतालमा संक्रमितको संख्या ९० पुगेपछि १९ जनालाई विद्यालयमा बनाइएको क्वारन्टिनमा सारिएको छ।
कोरोना नियन्त्रणका लागि सबै जिम्मेवार बन्नुपर्ने डा. बास्तोला बताउँछन्।
‘हात धुनुपर्छ मास्क लगाउनुपर्छ, भौतिक दूरी कायम गर्नुपर्छ र बाहिर काम गर्ने युवाहरुले लगेर आफ्ना आफन्तलाई रोग नसार्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यति नगरे भोलि उपचार अभाव नै हुनेगरी संक्रमित बढ्न सक्छन्।’
यद्यपि काठमाडौँमा त्यतिधेरै जोखिम बढिनसकेको नीति तथा योजना महाशाखा प्रमुख डा. लोहनी बताउँछन्।
‘काठमाडौंमा ट्रेसिङ र टेस्टिङकै कारण केसहरु देखिन थालेको हो। केही संक्रमित देखिँदैमा आत्तिनुपर्दैन,’ उनले भने, ‘तर, सुरक्षाका विधि भने अपनाउनै पर्छ।’

प्रतिक्रिया