कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेता, मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेकी छन्।
सिंहदरवारस्थित मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेताहरुले आगामी बजेट कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि केन्द्रित गर्न सु्झाव दिएका छन्। उनीहरुले सरकारले कोरोना नियन्त्रणका लागि चालेको कदम स्वागतयोग्य भए पनि तीनै तहको समन्वयमा अझै ध्यान दिनुपर्ने सुझाव पनि दिए।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मुख्य सचेतक देव गुरुङले कोरोना संक्रमण नियन्त्रणमा आउने सम्भावना तत्कालै नदेखिएकाले व्यवस्थापनमा विशेष कदम चाल्न सुझाव दिए। उनले स्वास्थ्य तथा सञ्चार उपकरण खरिदलाई तीब्रता दिन र परीक्षण दर वृद्धि गर्न आग्रह गरे।
खुला सीमाका कारण अझै खतराका दिन आउन सक्ने भन्दै सीमा बन्द गरेर नेपाल आउन चाहेकालाई आउने व्यवस्था मिलाउन सुझाव दिए।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीको सुझबुझ प्रशंसायोग्य रहेको बताए। उनले प्रधानमन्त्रीको स्पिडअनुसार मन्त्रीहरुले सहयोग गर्नुपर्ने धारणा राखे। खाँडले आगामी वर्ष विकासका आयोजनाहरु सञ्चालन गर्न कठीन हुने भन्दै केवल कोरोना नियन्त्रणमा केन्द्रित भएर बजेट निर्माण गर्न सुझाव दिए।
राष्ट्रिय सभामा सत्तापक्षका नेता दीनानाथ शर्माले नेपाल आउन चाहने नेपालीलाई सहजै स्वीकार गर्दै उनीहरुलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्ने धारणा राखे। उनले तत्कालिन र दीर्घकालीन रणनीति बनाएर कोरोना नियन्त्रणको काममा लाग्नुपर्ने बताए।
राष्ट्रिय सभामा सत्तापक्षका मुख्य सचेतक खिमलाल भट्टराईले मापदण्ड बनाएर प्रत्येक पालिकालाई कम्तिमा एक हजार क्षमताको क्वारेन्टिन निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन गरिनुपर्ने बताए।
राष्ट्रिय जनता पार्टीका सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले आइसोलेसनमा रहेका कोरोना संक्रमितको खानपान र बसोबासर कष्टपूर्ण रहेको बताए। उनले राहत वितरणमा स्थानीय तहले दलीय विभेद गरेको भन्दै रोक्न माग गरे।
सुझाव सुनिसकेपछि मन्त्री तुम्बाहाङफेले राजनीतिक दलका तर्फबाट प्राप्त सुझावहरु महत्वपूर्ण रहेको भन्दै मन्त्रिपरिषद् र कोरोना उच्चस्तरीय समितिमा प्रस्तुत गर्नु जानकारी दिए।

प्रतिक्रिया