कोरोना आशंकामा रगत जाँच गर्दा काठमाडौं महानगपालिका कार्यालयका ३१ जना सफाइ कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ। उनीहरूसहित २७० जनाको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।
महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार शुक्रबार ६ सय ६४ सफाइकर्मीको आरडीटी परीक्षण गर्दा ३१ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
‘उनीहरूसहित २ सय ७० सफाइकर्मीको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाएका छौं,’ वातावरण विभाग प्रमुख श्रेष्ठले शुक्रबार साँझ नेपालखबरसँग भने, ‘रिपोर्ट आएपछि कोरोना भए नभएको निश्चित हुनेछ।’
कोरोना आशंकाका बिरामीलाई हाल महानगरपालिकाको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टिमा राखिएको छ ।
काठमाडौं महानगरपालिका कार्यालयका १ हजार सफाइकर्मीसहित सबै १६ सय कर्मचारीकै स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिए।
केही दिनयता काठमाडौं उपत्यकामा धमाधम कोरोना संक्रमित भेटिन थालेपछि सरकारले परीक्षण तीव्र बनाएको हो।
याे पनि: काेराेना: काठमाडौंमा उपत्यकामा ५ दिनमा भेटिए ७ वर्षका २ बालकसहित ६ संक्रमित
जसअन्तर्गत उपत्यकाका कम्तीमा १० हजार जनाको नमुना परीक्षण गरिने योजना रहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।
सोही योजनाअन्तर्गत काठमाडौंं महानगरपालिकाका कार्यरत सफाइ कर्मचारीको नमुना परीक्षण गरिएको हो।
‘पछिल्लो समय विभिन्न जिल्लाबाट उपत्यका भित्रिनेका कारण काठमाडौंमा अलि जोखिम बढेको छ,’ नेपालखबरसँग कुरा गर्दै डा. पाण्डेले भने, ‘त्यही भएर हामीले जोखिमका हिसाबले विभिन्न समूह छुट्याएर आरडीटी र पीसीआर परीक्षण गर्न सुरु गरेका हौं।’
निर्देशक पाण्डेका अनुसार कोरोना संक्रमण भएको पहिलो हप्तामै पत्ता लगाउन पीसीआर परीक्षण जरुरी हुन्छ भने कोरोनाले भेटेको एक हप्ताभन्दा बढी समय भएकालाई भने आरडीटी परीक्षणबाट मात्र थाहा पाउन सकिन्छ।
यसैकारण उपत्यकामा नयाँ वा पुरानो दुवै संक्रमणको अवस्था कस्तो छ भनेर पत्ता लगाउन नमुना संकलन तथा परीक्षणलाई तीव्र पारिएको उनले बताए।
आरडीटी र पीसीआरको भिन्नता
आरडीटी परीक्षणका लागि फिल्डमै रगत जाँच गरिन्छ र रिपोर्ट पनि १५–२० मिनेटमै आउँछ। जसले कोरोना संक्रमण भएको एक हप्तापछिको मात्रै जानकारी दिन्छ।
आरडीटी पोजिटिभ आउनु भनेको सम्बन्धित व्यक्तिलाई कुनै समय कोरोना संक्रमण भएको तर अहिले पनि उसमा कोरोना सक्रिय छ कि छैन भनेर निश्चित गर्नचाहिँ स्वाब (खकार) को पीसीआर नै परीक्षण गर्नुपर्छ।
आरडीटी पोजिटिभ आए पनि पीसीआर नेगेटिभ आउन सक्छ/आएका पनि छन्। यस्तो रिपोर्ट आयो भनेचाहिँ उक्त व्यक्तिले कोरोना सार्न नसक्ने चिकित्सक बताउँछन्।
तर कोरोना लागेको सुरुवाती चरण अर्थात् एक हप्ताभित्र भने आरडीटी परीक्षणले देखाउँदैन। त्यसका लागि पीसीआर परीक्षण नै गर्नुपर्ने हुन्छ।
पीसीआर परीक्षणका लागि प्रयाेगशाला नै आवश्यक हुन्छ भने यसकाे रिपाेर्ट आउन पनि अवस्था हेरी ५-६ घण्टादेखि ७२ घण्टासम्म पनि लाग्न सक्ने विज्ञ बताउँछन्। त्यसैले नेपालमा आवश्यकताअनुसार दुवै खालका परीक्षण भइरहेका हुन्।

प्रतिक्रिया