भारतको उत्तराखण्डको खटिमा बजार क्षेत्रमा सर्यौँ किलोमिटर पैदल हिँडेर आएका १५० नेपाली मजदुरलाई क्वारेन्टिनमै व्यवस्थापनको माग गर्दै एक साताअघि भारतीय कंग्रेस आइका उत्तराखण्ड प्रदेश महासचिव भुवन कापडी धर्ना बसे।
भारतको रुद्रपुर र काशीपुर क्वारेन्टिनबाट नेपालीलाई निकालिएपछि त्यसको विरोधमा महासचिव कापडी खटिमाको सञ्जय पार्क शहीद समृतिमा धर्ना बसेको केही समयमै त्यहाँको स्थानीय प्रशासनले लखेटिएकै क्वारेन्टिनमा राख्ने प्रबन्धसमेत गरेको थियो। खटिमा बजार र आसपासका क्षेत्रमा पैदल हिँडेर भारतको विभिन्न ठाउँबाट आएका नेपाली मजदुर र खटिमामै क्वारेन्टिनमा रहेका नेपालीलाई नेता कापडीले दैनिक खानपिनको व्यवस्था मिलाउँदै आएका छन्।
‘यहाँको क्वारेन्टिनमा रहेका र अलपत्र परेका नेपाली मजदुरलाई मैले खाना खुवाउन थालेको आज ५० दिन भइसक्यो।’ उनले भने, ‘उद्यमसिंहनगरमा मात्रै दुई हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा छन्।’
उनले नेपाल सरकार आफ्ना नागरिकलाई लैजान गम्भीर हुनुपर्ने बताए।
‘खटिमामा मात्रै दुईदेखि अढाई सय जना छन्’, उनले भने, ‘खटिमा सीमा नजिक भएकाले यहाँ नेपाली जम्मा हुने क्रम बढेको छ।’ उनले मानवीय नाताले आफू नेपालीहरुको व्यवस्थापनका खटिएको बताउँदै नेपालीहरु अलपत्र रहँदा धेरै तनावमा रहेको समेत जानकारी दिए। ‘अहिले यहाँ अलपत्र रहनेहरुको अवस्था निकै दयनीय नै छ’, उनले भने, ‘भारतको चम्पावत जिल्ला र नेपाल–भारत सीमामा आवागमन गर्न कडाइ गरिँदा खटिमा भरिन थालेको छ।’
उनले नेपालीहरुको खानपिनको व्यवस्थापनका लागि आफ्नो टिम सक्रिय बनाउनुका साथै क्वारेन्टिनमा खाना वितरणमा भारतीय प्रहरीको समेत सहयोग लिइरहेका छन्। ‘क्वारेन्टिन काटिसेककाहरुलाई घर लैजाने व्यवस्था नगर्ने हो भने स्थिति भयावह हुनसक्ने सम्भावना धेरै छ’, उनले भने, ‘सीमामा नागरिकलाई रोक्न मात्रै यसको समाधान होइन।’
कञ्चनपुरको स्थानीय प्रशासनले सीमावर्ती भारतीय बजार वनबासाको स्कूलमा लामो समय क्वारेन्टिन बसेका २४२ जनालाई भने केही दिनअघि भीमदत्तनगर ल्याएर स्वास्थ्य परीक्षण गरी सम्बन्धित पालिकाको जिम्मा लगाएको छ। रासस

प्रतिक्रिया