ad ad

समाज


मोटरसाइकल चढ्नसमेत अस्वीकार गर्दै ११ बजे राति पैदलै हिँडेर भरतपुर अस्पताल पुगेका थिए यी संक्रमित

मोटरसाइकल चढ्नसमेत अस्वीकार गर्दै ११ बजे राति पैदलै हिँडेर भरतपुर अस्पताल पुगेका थिए यी संक्रमित

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ४:४६,

मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई चितवनका कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेको पाइएको छ।

पैदलै भरतपुर कोरोना विशेष अस्पताल पुगेका ती व्यक्तिलाई बाटोमा मोटरसाइकलमा सवार एक जनाले अस्पताल पुर्‍याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेकाे पाइएको हो।

भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उनी विमानस्थल अगाडिको बाटो हुँदै कोरोना अस्पतालतर्फ पुगेका थिए।

एकान्त बाटोमा रातको ११ बजेपछिको समयमा उनी एक्लै हिँडिरहेका थिए। सोही क्रममा एक भलाद्मीले टाढैबाट मोटरसाइकल रोकेर रातिको समय कहाँ पुग्ने हो लगिदिन्छु भनी आग्रह गरेका तर आफूले त्याे अनुराेध अस्वीकार गरेकाे उनले अस्पतालका चिकित्सकलाइ जानकारी गराएका छन्।

भरतपुर अस्पतालका डा.प्रमोद पौडेलका अनुसार त्यस क्रममा ती व्यक्तिले आफू भारतबाट आएको र कोरोना परीक्षण गर्न अस्पताल जान लागेकाले मोटरसाइकल नचढ्ने भनी जवाफ दिएका थिए।

पूर्वी नवलपरासीको देवचुली गाउँपालिका-१२ का ४९ वर्षीय ती व्यक्ति वैशाख ३० गते राति ११ः३० बजे भरतपुर कोरोना विशेष अस्पताल आइपुगेका हुन्।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँका अनुसार ती व्यक्ति वैशाख २७ गते भारतको कोलकताबाट हिँडेका थिए। एउटा ट्रकमा रक्सौलमा आएर झरेको चापागाईँले जानकारी दिए।

त्यहाँबाट सामान लिन नेपालबाट गएको ट्रक चढेर उनी आएका हुन्। उनका अनुसार ट्रकमा चालक मात्र छन्। ट्रक काठमाडौँतर्फ गएको अनुमान छ। चापागाईँको भनाइमा ती व्यक्तिलाई परिवारले भरतपुरमा कोरोना परीक्षण गरेर मात्र आउन भनेपछि उनी अस्पताल पुगेका हुन्। ती व्यक्ति निकै संयमित भएका कारण समस्या नभएको चापागाईँले बताए।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार उनलाई कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ।

भरतपुर अस्पतालमा यसअघि रहेका दुई कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि हाल अस्पतालमा सङ्क्रमित छैनन् । भरतपुर अस्पतालकै स्वामित्वमा रहेको कोरोना अस्पतालमा उनलाई राखिएको छ।

उनी कोलकताबाट रक्सौलसम्म तरकारी बोकेको ट्रकमा आएका हुन्। ट्रकमा चालक र सहचालक रहेको उनले अस्पतालमा जानकारी गराएका छन्।

डा.पौडेलका अनुसार रक्सौलबाट उनी चढेर आएको ट्रक पनि तरकारी बोकेकै थियो। सो ट्रक २६२० नम्बरको रहेको पौडेलले बताए। ‘सञ्चारमाध्यममार्फत ट्रक चालक र मोटरसाइकल चालकलाई परीक्षणका लागि आउन सन्देश पुर्‍याउनुर्‍यो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .