राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गर्न लागेकी हुन्। दिउँसो ४ बजे बस्ने संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ।
नीति तथा कार्यक्रममा कोरोना प्रभावित क्षेत्रलाई उत्थान गर्ने कार्यक्रम पनि समावेश रहेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए।
कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमै ठूलो धक्का लागेको बेला वैदेशिक रोजगारीबाट ठूलो संख्यामा नेपाली फर्किने आकलन गरिएको छ। उनीहरुलाई रोजगारी दिलाउन कृषि तथा उद्योगका क्षेत्रमा गुणात्मक कार्यक्रम ल्याउनुपर्ने सुझाव विज्ञहरुले दिइरहेका छन्।
नीति तथा कार्यक्रममा सरकारले आत्मनिर्भरता, औद्योगिक उत्पादन वृद्धि र निर्यातलाई जोड दिएको छ। स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सिँचाई जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले नीति कार्यक्रम तयार गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण सुस्ताएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताउँदै आएका छन्।
नीति तथा कार्यक्रममा कोरोनाविरुद्ध लड्नको लागि स्वास्थ्य क्षेत्रमा विशेष व्यवस्था सहितको नीति आउने अपेक्षा गरिएको छ।
याे पनि:
सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले गर्दैछिन् यस्ता घोषणा
प्रतिक्रिया