राजनीति


ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसके, राजीनामा दिनुपर्छ: वैद्य

ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसके, राजीनामा दिनुपर्छ: वैद्य

नेपालखबर
जेठ १, २०७७ बिहिबार १२:४८,

 नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक अधिकार गुमाइसेको भन्दै राजीनामा माग गरेको छ।

बुधबार बसेको स्थायी कमिटी बैठकले प्रधानन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ।

‘अहिलेको यो संवेदनशील घडीमा सबै कुरा ठीकठाक छ भनेर प्रस्तुत हुने, भारतसित कुनै प्रभावकारी वार्ता, संवाद तथा पहल गर्न नसकी निष्क्रिय रक्षात्मक स्थिति तथा दलालीको मानसिकतामा रमाउने, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आवाज उठाउने तथा स–साना विरोध प्रदर्शनमा संलग्न हुने देशभक्त नेपालीमाथि निर्लज्ज दमनमा उत्रने, कोरोना भाइरसको प्रकोपबाट पीडित जनताका लागि यथोचित राहत, उद्धार गर्न नसक्ने वर्तमान प्रधानमन्त्रीका लागि अब कुर्सीमा टाँसिएर बसिरहने कुनै नैतिक अधिकार छैन’, महासचिव मोहन वैद्य ‘किरण’द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, हाम्रो पार्टी प्रधानमन्त्री केपी ओलीको अविलम्ब राजीनामाको माग गर्दछ।’

क्रान्तिकारी माओवादीले सरकारले राष्ट्रिय सहमति जुटाउनु पर्नेमा सरकारले संसदमा प्रतिनिधित्व गर्ने दललाई मात्रै बोलाएको भन्दै विरोध जनाउनुका साथै अतिसंवेदनशील विषयमा सबै पक्षसित राष्ट्रिय सहमति गर्न अनुरोध गरेको छ।

लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसम्मको भूभाग र त्यस अतिरिक्त सुस्ता, महेशपुरलगायत सीमा क्षेत्रमा भारतीय विस्तारवादद्वारा गरिँदै आएको हस्तक्षेपको विरोध गर्दै पार्टीले र देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि समग्र नेपाली भूभागलाई समेटी शीघ्रातिशीघ्र नेपाली नक्साको सार्वजनिक गर्न, लिम्पियाधुरासम्मका सबै सीमा क्षेत्रमा अविलम्ब सुरक्षाफोर्सको तैनाथ गर्न, नेपालको सीमा क्षेत्रमा तारबारका लागि यथाशीघ्र पहल गर्न र नेपाली भूभागमा गरिएको हस्तक्षेपको विरोध तथा नेपाली सार्वभौमिकता रक्षाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नसमेत जोडदार माग गरेको छ।

कोरोनाको महामारीको मौका छोपेर भारतले हस्तक्षेप बढाउने, त्यही महामारीको निहुँमा सरकार चुप लागेर बस्ने र देशको भौगोलिक अखण्डतामा गम्भीर आँच आउने स्थिति पैदा भएको भन्दै वैद्य माओवादीले चुप लागेर नबस्न र संघर्षका कार्यक्रम अगाडि बढाउन माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad