समाज


बीपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

बीपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

फाइल फोटो


नेपालखबर
चैत १३, २०८२ शुक्रबार २१:४४, काभ्रेपलाञ्चोक

आज साँझको वर्षात्का कारण बिपी राजमार्गमा यातायात अवरुद्ध भएको छ। साँझ ६ बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिरुवाडाँडा, कालढङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढी (खहरेखोलामा पानीको बहाब उच्च रहेको) ले राजमार्गको विभिन्न स्थानमा यातायात अवरुद्ध भएको हो।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास भइरहेको बताए। उनका अनुसार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउन निकै कठिनाइ भइरहेको छ।

गतवर्षको बाढीपहिरोका कारण उक्त क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो। 

यसैबीच वर्षाका कारण बिपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले आज साँझदेखि सवारीसाधन ‘होल्ड’ गरेको छ। उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन होल्ड गराइएको धाँजुले बताए।

यसअघि यही चैत ७ गते बिहान सोही गाउँपालिकाको चारसयबेंसी, गिम्दी, दाउन्ने र कालढुङ्गामा खोलाबाटै सडक सञ्चालनमा ल्याइएकाले पानीको बहाव बढ्दा सडकखण्ड छ घण्टा अवरुद्ध भएको थियो। पानीको बहाव घटेपछि मात्रै पुनःनिर्माण गरी सडकलाई सञ्चालनमा ल्याइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad