नेपाल पत्रकार महासंघले २०८२ भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले क्षेत्राधिकार नाघेर पत्रकारिताका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरेका कतिपय प्रावधानहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पत्रकार र सञ्चारमाध्यमका सम्बन्धमा प्रतिवेदनमा स्वतन्त्र प्रेसको मर्मविपरीत हचुवाका भरमा उल्लेख गरिएका कतिपय प्रावधान आपत्तिजनक रहेको महासंघको ठहर छ।
‘पत्रकार हुन कम्तीमा स्नातक हुनुपर्ने, १५ वर्षसम्म संवाददाता, स्तम्भकार, अन्तर्वार्ताकार, सहायक सम्पादक भई काम गरेको हुनुपर्ने जस्ता हास्यास्पद सुझाव दिने चेष्टा गर्नु लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्र पत्रकारिताको मूल्य, मान्यता र मर्मविपरीत हो’ महासंघले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘आयोगले संविधान र विद्यमान कानुनी प्रावधानविपरीत पत्रकार र सञ्चारमाध्यमलगायतका क्षेत्रमा गरेको टिप्पणीमाथि महासंघ असहमति प्रकट गर्दछ।’
महासंघले आयोगको प्रतिवेदन प्रतिशोधको भावनाले प्रेरित रहेको उल्लेख गरेको छ।
‘समग्रमा प्रतिशोधको भावनाबाट प्रेरित यो प्रतिवेदनले भोलिको राज्यसंयन्त्रलाई निर्देशित गर्न खोजेको झल्को दिएको छ। नेपाली पत्रकारहरू लोकतन्त्रप्रतिको अविचलित आस्थामा निष्ठावान् छन् भन्ने विषयमा राज्यका सबै निकायलाई महासंघ सचेत गराउँदछ’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
महासंघ पत्रकार आचारसंहिता पालना गरी स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्छ भन्नेमा सदा सचेत र दृढ रहेको स्पष्ट पार्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अतिक्रमण गर्ने जुनसुकै प्रयासको कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।
Shares

प्रतिक्रिया