समाज


आज ईद पर्व

आज ईद पर्व

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०८२ शनिबार ५:३८, काठमाडौँ

आज ईद (ईद–उल–फित्र) पर्व। मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ शनिबार इद पर्व मनाउँदै छन्।

आज ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ। सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ। 

इदको अवसरमा सरकारले हिजो मात्रै आजका लागि सार्वजनिक बिदा घोषण गरेको थियो। तर, आज शनिबार परेकाले स्वतः सार्वजनिक बिदा नै छ। 

रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजको साधनापछि मनाइने ईद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो। यस पर्वले मानिसलाई संयम, धैर्य र आत्मनियन्त्रणको पाठ सिकाउँदछ। 

यस अवसरमा आयोजना हुने ‘इफ्तार’ र सामूहिक नमाजले देश र समुदायमा एकता र सहअस्तित्वको भावना बलियो बनाउँदछ । दान र सहयोगको परम्पराले असहाय, गरिब तथा सहयोगको आवश्यकता भएकाप्रति करुणा र सहानुभूति जगाउँदछ।

ईदको चन्द्रमा देखेपछि ‘चाँद मुबारक’ वा ‘ईद मुबारक’ भन्ने परम्परा शुभकामना मात्र होइन, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने सुन्दर संस्कार हो। 

ईद–उल–फित्र धार्मिक पर्व मात्र होइन, सामाजिक सद्भाव र सांस्कृतिक ऐक्यबद्धताको प्रतीक पनि हो। नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासँग गला मिलाउँदै शुभकामना आदान–प्रदान गर्ने मौलिक परम्पराले सामाजिक सम्बन्धलाई अझ घनिष्ठ बनाउँदछ। 

विशेष परिकार बनाएर खाने–खुवाउने संस्कारले साझा खुसी बाँड्ने परम्परालाई जीवन्त राख्न सहयोग पुग्दछ भने दान र सहयोगको संस्कारले समाजलाई न्यायपूर्ण र करुणामय बनाउन मद्दत गर्दछ। यस पर्वले हामीलाई भाइचारा, मेलमिलाप र सामूहिकताको मूल्यलाई आत्मसात् गर्न प्रेरणा प्रदान गर्दछ।

धर्मको मूल उद्देश्य मानवता हो। कुनै पनि धर्मले विभेदलाई स्वीकार गर्दैन, बरु त्याग, पवित्रता, अहिंसा, लोकहित, विवेक र सत्कर्मलाई प्रोत्साहन गर्दछ। धर्मले मानिसलाई सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न प्रेरित गर्दछ। 

विपत्तिमा धर्मप्रतिको आस्था नै मानिसलाई धैर्य र साहस प्रदान गर्दछ। सद्भाव, सदाचार र समन्वय नै सभ्य समाज निर्माणका आधार स्तम्भ हुन्। 

यस दृष्टिले ईद–उल–फित्रले हामीलाई धार्मिक आस्था मात्र होइन, सामाजिक न्याय, समता र सहअस्तित्वको मार्गमा अघि बढ्न उत्प्रेरित गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad