महोत्तरी, बारा र सुनसरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
बर्दिबास नगरपालिका-१ रातोपुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका-१४ बस्ने ४१ वर्षीय अशोक साह छन्।
प्रदेश ३-०१-००६ ख ०७३८ नम्बरको ट्रकले म.प्र.०२ -००८प ९४६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए।
स्थानीय शुभ स्वास्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा उनको मृत्यु भएको हो। हाल फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बाराको सिम्रौनगढ नगरपालिका-५ मा बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकल र बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका-५ बस्ने ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकल चालकको समाज अस्पताल कलैयामा र सोही मोटरसाइकलमा सवार अर्का जनाको हिमाल अस्पताल वीरगंजमा उपचार भइरहेको छ।
बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी सुनसरीको बर्जु गाउँपालिका-२ मा प्र.१-०४-००२ प ५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङको विराटनगर महानगपालिका-१४ बस्ने ३२ वर्षीय जय कृष्ण यादव छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
यी सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया