आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया पुगेर अनलाइन ठगी (स्क्यामिङ) का काममा लगाइएका २१ नेपाली नागरिकको उद्धार गरिएको छ। अवैध रूपमा सञ्चालित स्क्यामिङ केन्द्र र क्यासिनोमा बन्धक बनाइएका उनीहरूलाई बुधबार स्वदेश फर्काइएको हो।
थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको सक्रियता र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार सम्भव भएको हो। उद्धार गरिएकाहरूलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा नेपाल ल्याइएको दूतावासले जनाएको छ।
राहदानी जफत र अवैध बसाई
कम्बोडियामा नेपालीहरूलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाउने र भिसा सकिएपछि पनि जबर्जस्ती राख्ने गरिएको पाइएको छ। दूतावासका अनुसार यस्ता केन्द्रहरूले कामदारको राहदानी जफत गर्ने गरेका छन्। 'स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरै जनाको गुनासो आएको देखिन्छ,' दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ।'
कम्बोडिया जानेको संख्यामा ह्वात्तै वृद्धि
- २०२१: १०१ जना
भ्रमण भिसामा नजान दूतावासको आग्रह
बैंककस्थित नेपाली राजदूतावासले पछिल्लो समय भ्रमण भिसाको दुरुपयोग गरी अवैध रोजगारीमा जाने क्रम बढेको भन्दै नागरिकहरूलाई सचेत गराएको छ। प्रलोभनमा परेर अलपत्र पर्ने क्रम बढेपछि दूतावासले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको हो।
'नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यान्मा थाइल्याण्डलगायत मुलुकमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ', दूतावासले भनेको छ।
दूतावासले हाल कम्बोडियामा कठिन परिस्थितिमा रहेका वा अलपत्र परेका अन्य नेपालीहरूको पहिचान गरी उनीहरूलाई पनि स्वदेश फर्काउने प्रक्रिया जारी रहेको उल्लेख गरेको छ। अलपत्र परेकालाई दूतावास वा एनआरएनए कम्बोडियाको सम्पर्कमा आउन समेत सूचित गरिएको छ।
Shares

प्रतिक्रिया