दोलखाको मोलुस्थित मतदान केन्द्रमा पुनः मतदान सुचारु गर्ने तयारी भएको छ। सर्वदलीय बैठकपछि मतदान सुचारु गर्ने तयारी भइरहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले बताए।
मतदान सुचारु गर्नु पहिले कांग्रेस र नेकपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा गर्नु पर्ने माग राखेका थिए। प्रहरीले नियन्त्रणमा लिएका ६ जनालाई रिहा गरिएको र हराएको मतपत्रको खोजि भइरहेको ओलेले नेपालखबरलाई बताए।
‘५५ वटा जति मतपत्र हराएका थिए। ती मध्ये ४५ वटा जति फेला परेका छन्। अरु पनि खोज्दैछौँ। अब मतदान सुचारु हुन्छ’, उनले भने।
मतदान सुचारु गर्ने तयारी भइरहे पनि मतदाता भने घर फर्किइसकेका छन्। अहिले मतदान केन्द्रमा मतदाता नभएपछि प्रशासनले माइकिङ गरेर बोलाइरहेको छ।
‘हामीले पनि माइकिङ गरेर बोलाइरहेका छौँ। दलहरुले पनि ल्याउनु होला, हराएको मतपत्रको मुचुल्का गरेर भएपनि मतदान सुचारु गर्ने तयारी छ’, सहायक प्रमुख जिल्ला अधिकारी आलेले भने।
मोलुस्थित मतदान केन्द्रमा करिव ३ सय मत खसेपछि विवाद भएको थियो।
मतदानका क्रममा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले बुथ कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले विरोध जनाएका थिए। उनीहरुले निर्वाचनका कर्मचारीमाथि हातपात गर्न खोजेपछि सुरुमा एक राउन्ड हवाइ फायर समेत भएको थियो।
पछि पुनः विवाद भएको थियो। पछि फेरि प्रहरीले राइफलबाट अर्को राउण्ड हवाई फायर गरेको थियो। दोलखाका अन्य मतदान केन्द्रमा भने मतदान भइरहेको छ।
दिउँसो ३ बजेसम्ममा त्यहाँ ४१.८९ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
Shares

प्रतिक्रिया