प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत सुरक्षा योजना अनुसार, सरोकारवाला सबै निकायसँग समन्वय र सहकार्यमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ।
बुधबार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले अपिल जारी गरी सेनाको गैर-राजनीतिक चरित्रलाई कामय राख्दै काम भइरहेको जनाएको छ। ‘आसन्न निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौँ,’ अपिलमा भनिएको छ।
केही सञ्चारमाध्यममा सेनाले मतदान केन्द्रमै खटिने, मत पेटिका सेनाले ढुवानी गर्ने लगायतका समाचार प्रकाशित गरेका थिए। त्यसमा नेपाली सेनाले प्रस्टीकरण दिएको हो।
सेनाले भनेको छ, ‘आसन्न प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अंग एवं सरोकारवाला निकायहरू एकीकृत र समन्वयात्मक ढंगले कार्य गरिरहेको अवस्थामा प्रसारित असान्दर्भिक र अतिरञ्जित सामग्रीहरूप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ।’
त्यस्ता सूचनामा सत्यता नभएको नेपाली सेनाले जनाएको छ। ‘सुनियोजित ढंगबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनाहरूमा विश्वसा नगर्न/नगराउन हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ,’ सेनाले भनेको छ।
एकीकृत सुरक्षा योजना अनुसार प्रतिनिधि सभाको निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइँदै छ। यसमा मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी रहनेछ। त्यसपछि दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ। विगतका निर्वाचनमा पनि यसरी नै सुरक्षा निकाय परिचाल गरिँदै आएको थियो।

Shares

प्रतिक्रिया