समाज


भोट हाल्न ९ लाख मान्छे बाहिरिँदा काठमाडौँ सुनसान

‘यसपालि पार्टीले गाडी रिजर्भ गरेनन्, यात्रु आफैले गरे’
भोट हाल्न ९ लाख मान्छे बाहिरिँदा काठमाडौँ सुनसान

तस्बिर: सरोज शाही


आयुषा ढकाल
फागुन २०, २०८२ बुधबार १६:१, काठमाडौँ

चुनावका कारण काठमाडौँका सडक र गल्लीहरू सुनसान भइसकेका छन्। सडकमा सवारी साधनहरूको पातलो आवतजावत मात्र देखिन्छ। सहर तथा बजारमा देखिएको चुनावी चहलपहल गाउँ भित्रिसकेको छ।

प्रतिनिधि सभाको निर्वाचनका लागि ८ लाख ८४ हजार ९५ जना काठमाडौँबाट बाहिरिएका छन्। काठमाडौँ छोड्ने क्रम जारी रहेको छ।

कलङ्की, नयाँ बसपार्क, गौशाला, सुन्धारामा यात्रुहरूको चाप बढे तापनि काठमाडौँका सडक, चोक र गल्लीहरू भने दिउँसै सुनसान भएका छन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौला भन्छन्, ‘९ गतेदेखि २० गते बेलुका १२ बजेसम्म अनुमानित ९ लाख यात्रु काठमाडौँबाट बाहिरिँदै छन्।’

मंगलबार मात्र ३८ हजार बढी काठमाडौँबाट बाहिरिएका थिए भने बुधबार बिहानदेखि दिउँसोसम्म ४२ हजारले उपत्यका छाडिसकेका छन्।

काठमाडौँ सुनसान हुनुमा चुनाव मुख्य कारण त हो नै, यसलाई बल पुर्‍याउने काम होलीले पनि गर्‍यो। चुनावका लागि तीन दिन र होलीको बिदा समेत जोड्दा एक हप्ता नै छुट्टी भयो। त्यसैले देशभरका मानिस काठमाडौँ छाडेर घर हिँडेका छन्।

सामान्य दिनहरूमा भन्दा अहिले हरेक दिन दोब्बरभन्दा बढी मान्छे काठमाडौँबाट बाहिरिइरहेको सिटौलाले बताए।

सोही कारण यसपालि होलीमा समेत धेरै भिडभाड महसुस नभएको काठमाडौँबासीको भनाइ छ।

‘अघिल्ला चुनावहरूमा भोट हाल्ने मतदाता मात्रै घर जान्थे तर अहिले धेरै बिदा र होलीसमेत परेकाले घर फर्कनेहरू बढे,’ कलङ्कीबाट बुटवल जाँदै गरेकी एक यात्रुले बताइन्।

उनले दशैँमा जस्तै लामो समय छुट्टी परेको र मतदान गर्नको लागि आफू घर जाँदै गरेको सुनाइन्।

विशेष परिस्थितिमा भएको निर्वाचनको कारण पनि धेरै मतदाता परिवर्तनको लागि मतदान भन्दै आफ्नो स्थायी ठेगाना तर्फ फर्किएका छन्। जेन–जी आन्दोलनपछि नागरिक सरकारले गराउन लागेको यस निर्वाचनमा धेरैले परिवर्तन चाहेको बताएका छन्। पहिले चुनावी विषयमा खासै चासो नराख्ने युवाहरूले लामो लाइन बसेर बसको टिकट काटे।

यात्रुहरू यसपटक मतदान गर्नका लागि पनि निकै उत्साहित देखिएका छन्।

एक यात्रुले नेपालखबरसँग भने, ‘अब म काठमाडौँ फर्किँदै गर्दा नयाँ नेपाल देख्न पाऊँ।’

कार्यवाहक अध्यक्ष सिटौलाका अनुसार अब यो क्रम घट्नेछ र बुधबारबाट लामो दूरीको बुकिङ लिइने छैन।

अहिले अत्यधिक मात्रामा गाडी, जिप, मिनिबसहरू रिजर्भ भइरहेका छन्। तर यस पटक चुनावको समयमा यातायात व्यवसायीले गाडी रिजर्भ हुँदा केही फरक पाइरहेका छन्। पहिले नेताहरूले आफ्नो क्षेत्रका कार्यकर्ताको लागि गाडी रिजर्भ गर्दैछु भन्थे भने यस पटक कसैले पनि त्यस्तो नभनीकन व्यक्तिगत रुपमा रिजर्भ गरेको सरोजले बताए।

उनी भन्छन्, ‘कुनै पार्टीले पनि हाम्रो कार्यकर्ताको लागि रिजर्भ गर्नु पर्छ भनेका छैनन्।’

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार फागुन ११ गते ४९ हजार ९९३, १२ गते ४१ हजार ३७६ जना, १३ गते ४० हजार ५५९ जना, १४ गते ४२ हजार ८३ जना, १५ गते ३९ हजार ७८८ जना, १६ गते ४२ हजार ४०७ जना, १७ गते ५३ हजार ३७१ र १८ गते ३६ हजार ३४३ जना यात्रु काठमाडौँबाट बाहिरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad