काठमाडौँको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट ज्यान गुमाउने पुरुष सरकारी कर्मचारी भएको खुलेको छ।
मंगलबार बिहान बिहान पौने ९ बजेतिर भएको दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका-५ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको थियो।
‘कोइराला भक्तपुरस्थित क्षयरोग केन्द्रमा कार्यरत नासु भएको खुलेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले नेपालखबरसँग भने, ‘ठक्कर दिने टिपर चालकलाई हामीले पक्राउ गरेका छौँ।’
आज बिहान काठमाडौँ महानगरपालिका ३१ मिनभवनस्थित सिविल अस्पताल अगाडी दुर्घटना भएको हो।
बिजुलीबजारबाट तिनकुनेतर्फ जाँदै गरेको ब.२ क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले प्र. ३-००१ ब.९४५ को सरकारी नम्बर प्लेटको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई तत्काल उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौँको पेप्सीकोला बस्दै आएका टिपर चालकल २६ वर्षीय विकास थापालाई प्रहरीले पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया