इरानमाथि इजरायल र अमेरिकाको संयुक्त सैन्य हमलापछि मध्यपूर्वमा युद्धको राँको दन्किएको छ।
इरानले जवाफी प्रत्याक्रमण सुरु गर्दै साउदी अरब, यूएई र बहराइनस्थित अमेरिकी सैन्य बेसहरूलाई निशाना बनाएको छ। तीनै देशमा रहेका नेपाली श्रमिकको सुरक्षा जोखिम बढेको छ।
यसै पृष्ठभूमिमा बहराइनस्थित नेपाली दूतावासले शनिबार एक विशेष सुरक्षा ‘सर्कुलर’ जारी गर्दै नेपालीलाई उच्च सतर्कता अपनाउन र बहराइन सरकारको आधिकारिक सुरक्षा प्रणालीसँग जोडिन आग्रह गरेको छ।
दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘नागरिक सुरक्षाको लागि बहराइन सरकारको माइगभ एप डाउनलोड गरी साइरन अलर्ट फिचर्स तुरुन्तै एक्टिभ गर्नुहुन अनुरोध छ। सुरक्षा संवेदनशीलताप्रति सचेत रहँदै आ-आफ्नो कम्पनीले दिएका सुरक्षा निर्देशनहरू पूर्ण रूपमा पालना गर्नुहोस्।’
बहराइनमा अमेरिकाको ‘फिफ्थ फ्लिट’को मुख्यालय रहेको छ, जहाँ हजारौँ अमेरिकी सैनिक तैनाथ छन्। इरानले यसै बेसलाई लक्षित गरी मिसाइल प्रहार गरेपछि बहराइनको आकासमा ‘मिसाइल डिफेन्स सिस्टम’ सक्रिय पारिएको छ।
हाल बहराइनमा करिब ३५ हजार नेपाली श्रमिकहरू कार्यरत रहेको सरकारी तथ्याङ्क छ। तीमध्ये ठूलो संख्या अमेरिकी सैन्य बेस आसपासका क्षेत्रमा निर्माण र सुरक्षा सेवामा संलग्न छन्।

Shares

प्रतिक्रिया