राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मध्यपूर्वमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
अमेरिका र इजरायले इरानमा आक्रमण गरेपछि मध्यपूर्व तनावग्रस्त बनेको छ। इरानले पनि मध्यपूर्वका अमेरिकी सैन्य अखडामा जवाफी आक्रमण गरेको छ।
त्यसलाई लिएर सामाजिक सञ्जालमार्फत रास्वपा सभापति लामिछानेले चिन्ता व्यक्त गरेका हुन्। उनले भनेका छन्, ‘हामी सबै पक्षलाई अधिकतम संयमता अपनाउन र समस्याको समाधान संवाद एवं कूटनीतिक माध्यमबाट खोज्न अपिल गर्दछौँ।’
उनले त्यस क्षेत्रमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। ‘नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्दै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दछौँ,’ लामिछानेले भनेका छन्।
त्यस्तै, रास्वपा वरिष्ठ नेता शाहले पनि नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत शाहले भनेका छन्, ‘राजदूतावासले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कृपया सकेसम्म घरभित्रै सुरक्षित रहनुहुन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्नुहुन, अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्नुहुन अनुरोध गर्दछु।’
Shares

प्रतिक्रिया