सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भिड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन्।
सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपय उपत्यकामा ‘लकडाउन’ खुकुलो भएको भन्ने बुझाइका कारण काम नपरी पनि घर बाहिर निस्कन थालेको पाइन्छ।
पहिले बिहान, साँझ मात्रै खुल्ने खाद्यान्न पसल जुनसुकै समय खोल्ने प्रशासनको निर्णयका कारण पनि उपत्यकाका विभिन्न भागमा दिनभरजसो मानिसको आवतजावत देखिएको छ।
कतिपयले सवारीसाधन बाक्लो हुँदा सडकमा जाँच हुँदैन भनेर पनि निस्केको पाइएको छ। कतिपय व्यक्ति अब त लकडाउन खुकुलो छ भन्दै घुम्न निस्केको पनि भेटियो। सीमित क्षेत्रमा मात्रै खुकुलो बनाइए पनि धेरैमा पहिले जस्तै पालना गर्नुपर्छ भन्ने थाहा नभएको वा थाहा भए पनि प्रहरी कम परिचालन हुन्छन् भन्ने सोचेर बाहिर निस्केको पाइएको छ।
उपत्यकामा निर्माणका लागि आवश्यक हार्डवेयर पसल खुल्ने भनिए पनि कतिपय स्थानमा चिया पसल, क्याफे, कस्मेटिक्सलगायत पसलसमेत खुलेको देखिन्थ्यो। नेपाल प्रहरी र ट्राफिक प्रहरीले भने कार्यालय र उद्योग खुलेपछि आवतजावत बढ्नु स्वाभाविक भएको बताएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) जीवन श्रेष्ठले चहलपहल बढ्दा सवारी पासको दुरुप्रयोग बढ्न सक्ने भएकाले जाँच बढाइएको बताएका छन्। लकडाउनको सुरुको साताभन्दा पछिल्लो समय पासको दुरुपयाेग बढिरहेको उनले बताए।
ट्राफिक प्रहरीले विभिन्न स्थानमा जाँच पनि बढाएको उनको भनाइ छ। उनले भने, ‘हामीले पहिलेभन्दा जाँच अझ कडाइ गरिरहेका छौं।’ आइतबार दिउँसोसम्म सवारी पासको दुरुपयोग गर्ने चार पाङ्ग्रे १०२ र दुई पाङ्ग्रे ४५८ गरी ५६० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। दैनिक ७०० देखि ८०० सम्म सवारी साधन कारवाहीमा परिरहेको उनले बताए।
अहिले खुलेका कार्यालयमा जनशक्ति र सवारीसाधनको प्रयोग सही रूपमा भइरहेको छरछैन भनी नियमनको जिम्मेवारी सम्बन्धित मन्त्रालयको सचिवलाई दिइएको छ। त्यससँगै ट्राफिक प्रहरीले पनि जाँच गरिरहेको छ। उनले भने, ‘गल्ती भेटिँदा कारवाही पनि भइरहेको छ ।’
उपत्यकामा भिडभाड हुन नदिन कस्ता सवारी साधन कुन समयमा चल्न दिने भनी समय निर्धारण गरिएको छ। विकास निर्माणसम्बन्धी सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन्। बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। रासस

प्रतिक्रिया