सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भिड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन्।
सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपय उपत्यकामा ‘लकडाउन’ खुकुलो भएको भन्ने बुझाइका कारण काम नपरी पनि घर बाहिर निस्कन थालेको पाइन्छ।
पहिले बिहान, साँझ मात्रै खुल्ने खाद्यान्न पसल जुनसुकै समय खोल्ने प्रशासनको निर्णयका कारण पनि उपत्यकाका विभिन्न भागमा दिनभरजसो मानिसको आवतजावत देखिएको छ।
कतिपयले सवारीसाधन बाक्लो हुँदा सडकमा जाँच हुँदैन भनेर पनि निस्केको पाइएको छ। कतिपय व्यक्ति अब त लकडाउन खुकुलो छ भन्दै घुम्न निस्केको पनि भेटियो। सीमित क्षेत्रमा मात्रै खुकुलो बनाइए पनि धेरैमा पहिले जस्तै पालना गर्नुपर्छ भन्ने थाहा नभएको वा थाहा भए पनि प्रहरी कम परिचालन हुन्छन् भन्ने सोचेर बाहिर निस्केको पाइएको छ।
उपत्यकामा निर्माणका लागि आवश्यक हार्डवेयर पसल खुल्ने भनिए पनि कतिपय स्थानमा चिया पसल, क्याफे, कस्मेटिक्सलगायत पसलसमेत खुलेको देखिन्थ्यो। नेपाल प्रहरी र ट्राफिक प्रहरीले भने कार्यालय र उद्योग खुलेपछि आवतजावत बढ्नु स्वाभाविक भएको बताएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता ९प्रहरी उपरीक्षक० जीवन श्रेष्ठले चहलपहल बढ्दा सवारी पासको दुरुप्रयोग बढ्न सक्ने भएकाले जाँच बढाइएको बताएका छन्। लकडाउनको सुरुको साताभन्दा पछिल्लो समय पासको दुरुप्रयोग बढिरहेको उनले बताए। ट्राफिक प्रहरीले विभिन्न स्थानमा जाँच पनि बढाएको उनको भनाइ छ।
उपत्यकामा भीडभाड हुन नदिन कस्ता सवारी साधन कुन समयमा चल्न दिने भनी समय निर्धारण गरिएको छ । विकास निर्माणसम्बन्धी सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ।

प्रतिक्रिया