मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ। यतिबेला (बिहीबार बिहान) कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी प्रदेशमा मौसम अधिकांश बदली (आकाशका अधिकांश भागमा बादल) छ। अनि देशका बाँकी स्थानमा मौसम आंशिक बदली (आंशिक बादल) छ भने तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे गरेको प्रक्षेपणअनुसार आजका देशका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ।
हेर्नुहोस् प्रक्षेपण:
दिउँसोः देशका पहाडी र हिमाली भूभागमा मौसम साधरणतया बदली (आकाशमा बादल) हुनेछ। बाँकी स्थानमा आंशिक बदली लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु/कुहिरो रहनेछ।
राति: देशका हिमाली भूभागमा मौसम साधरणतया बदली हुनेछ। कोसी, बागमती प्रदेशका तराई र मधेस प्रदेशलगायत बाँकी पहाडी भूभागमा मौसम आंशिक बदली हुनेछ र बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ।
काठमाडौँमा वर्षाको सम्भावना?
काठमाडौँ उपत्यकामा पनि आज दिनभर बादल लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँमा पनि आज दिनभर मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन।
‘अहिले बादल पश्चिमबाट पूर्वतिर सर्ने क्रममा छ। काठमाडौँमा पनि दिउँसो बादल लाग्ने सम्भावना छ। अहिले पनि काठमाडौँमा घाम मधुरो मधुरो नै छ’, उनले नेपालखबरसँग भनिन्, ‘आज काठमाडौँमा वर्षाको सम्भावनाचाहिँ न्यून छ।’

Shares

प्रतिक्रिया